काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको आग्रहमा पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक सहमतिका लागि दुई दिनपछि सार्ने भएका छन्।
उपत्यका बाहिर रहेका नेता कृष्णप्रसाद सिटौलाले बहुमत र बहिष्कार दुवै गल्ती भएको बताएका थिए। सभापति देउवासँग सिटौलाले सोमबार कुरा गरी सहमतिका लागि दुई दिन बैठक सार्न आग्रह गरेका थिए।
संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच विवाद बढ्दै गएपछि सिटौलाले सहमतिमै अघि बढ्न सुझाएका थिए। सिटौलाको प्रस्तावअनुसार सभापति देउवाले पुस २ गते १ बजेका लागि बैठक बोलाएका छन्।
नेपाल लाइभसँग कुरा गर्दै नेता सिटौलाले भने,‘बिहीबारको बैठकमा म थिइनँ। त्यही दिन नै बहुमत र बहिष्कारको कुरा भइहालेछ।’ बहुमत र बहिष्कारको पद्धतिप्रति असहमति रहेको जनाउँदै सिटौलाले समय धेरै लागे पनि छलफलबाटै सहमति खोज्नुपर्ने बताए।
कम्युनिस्टको घेरामा रहेको कांग्रेसलाई चुनौती धेरै रहेको उनले बताए। सिटौलाले भने, ‘कठिन परिस्थितिमा बृहत एकता र सहमति आवश्यक हुन्छ।’
पौडेल पक्षका नेताहरुको बहिष्कारले केन्द्रीय समितिको बैठकले औपचारिक प्रस्तावमा छलफल गर्न सकेको थिएन। सोमबार बोलाइएको बैठकमा समेत पौडेल पक्षका नेताहरु सहभागी भएनन्। संस्थापन इतरका नेताहरु अनुपस्थित भएपछि देउवा निकटका केन्द्रीय सदस्यहरु बैठकका लागि केन्द्रीय कार्यालय पुगेपनि बैठक बस्न सकेन।
पौडेल पक्षले राखेका प्रस्तावहरुमा कार्यदलका सदस्यहरुबीच बिहान नेता प्रकाशमान सिंहको निवासमा वार्ता भएको थियो। दुई पक्षको वार्तापछि नेताहरुले उपल्लो तहका नेतालाई बैठकबारे व्रिफिङ गरेका थिए।
पछिल्लो समय संस्थापन पक्षले पौडेल समूहले राखेका अधिकांश प्रस्तावलाई स्वीकार्ने संकेत देखाएको छ। देउवा निकट केन्द्रीय सदस्य मीन विश्वकर्माले भने,‘उहाँहरुको ९ बुँदे प्रस्ताव मानेकै थियौं। फेरि अरु माग थपिए। त्यसलाई पनि मान्दिऊँ भन्ने भएको छ।’
संस्थापन पक्षले तल्लो तहको कार्यसमिति बनाएपछि क्रियाशील सदस्यता वितरण हुने जनाएको थियो। पौडेल पक्षले त्यसलाई कार्यतालिकामा राख्नुपर्ने माग राखेको थियो। त्यसलाई स्वीकार्न समस्या नरहेको बताउँदै नेता विश्वकर्माले भने, ‘अब हामी महाधिवेशनको मिति तोक्ने भइसकेका छौं। रोक्ने भनेकै होइन किन अल्मलिनु।’
संस्थापन पक्षले धेरै कुरा मिलेको बताइरहँदा पौडेल पक्षले भने सहमति पहिल्याउन देउवा पक्ष तयार नभएको आरोप लगाएको छ। नेता पौडेल निवासमा दिउसो बसेको बैठकले प्याकेजमा सहमति नभएसम्म बैठकमा नजाने निर्णय गरेको छ। विभागको संख्या, भ्रातृ संस्थामा भागवण्डा र क्रियाशील सदस्यताका विषयमा सहमति हुन नसकेको संस्थापन इतरका नेता कल्याण गुरुङले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।