काठमाडौं- उपराष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रका नन्दबहादुर पुनले मनोनयन दर्ता गर्दैछन्। सत्ताको नेतृत्वकर्ता दल एमालेको समर्थनमा पुनले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउन लागेका हुन्।
उपराष्ट्रपतिमा दोहरिने इच्छा देखाएका उनलाई निरन्तरता दिन माओवादी केन्द्रको नेतृत्वसमेत सहमत भएको थियो।
राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपतिमा पुनलाई दोहर्याउने वाम गठबन्धनका प्रमुख दुई नेताले सहमति गरेका थिए। सोही अनुसार राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित भइसकेकी छन्। अघिल्लो कार्यकाल छोटो समयको बताउँदै आएका पुनले उपराष्ट्रपतिमा दोहरिने इच्छा व्यक्त गर्दै आएका थिए। वाम गठबन्धनको बहुमत रहेकाले पुन दोहोरिने पक्का छ।
उम्मेदवारी दर्ताका लागि आज बिहान १० देखि दिउँसो २ बजेसम्म निर्धारण गरिएको छ। चैत ४ गते भोलि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चैत ९ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।