एजेन्सी- दिल्लीको एक अदालतले कुलदीप सेंगरलाई अपहरण र बलात्कारमा दोषी ठहर गर्ने फैसला सुनाएको छ।
दिल्लीको तीस हजारी कोर्टले उनलाई बलात्कार अभियोगमा दोषी ठहर गर्ने फैसला सुनाएको हो। उनीमाथि कति सजाय हुने भन्ने बारेमा १९ डिसेम्बरमा पुनः बहस हुनेछ र अदालतले फैसला सुनाउने छ।
कुलदीप सेंगर पहिला सत्तारुढ दल भाजपाका विधायक थिए। उनीमाथि बलात्कार र अपहरणको आरोपका साथै देशभर आन्दोलन भएपछि पार्टीबाट निष्काशन गरिएको थियो।
अदालतले सिबिआईको काम गर्ने शैलीमाथि पनि प्रश्न उठाएको छ। सेंगरमाथि आरोपपत्र ढिलो किन दायर भएको भन्दै अदालतले प्रश्न उठाएको हो। यो प्रकरणमा आरोप लागेका अर्का अभियुक्त शशि सिंहलाई भने अदालतले हिरा गरिदिएको छ।
यो प्रकरण लामो समयदेखि रोकिएको थियो। सेंगरमाथि मुद्दा दायर गर्न सर्वोच्चसम्म पुग्नुपरेको थियो। बलात्कार र अपहरणजस्तो संवेदशील मुद्दामा सिबिआईको कार्यशैली गलत भएको अदालतलको टिप्पणी थियो। यो प्रकरण निकै विवाद भएपछि सर्वोच्चले हस्तक्षेप गरेर लखनउबाट दिल्ली अदालतमा मुद्दाको सरुवा गरेको थियो। दिल्ली अदालतमा मुद्दा सारेपछि निरन्तर सुनुवाई गर्दै तीस हजारी अदालतले फैसला सुनाएको हो।
सन् २०१७ मा भाजपाका विधायक कुलदीपमाथि एक महिलाको अपरणपछि बलात्कारको आरोप लागेको थियो।
विधायक सेंगरको घरमा कामको कुरा गर्न गएकी नावालीग महिलामाथि बलात्कार गरेका थिए। उनलाई लामो समयसम्म घरमै कैद गरेर सेंगरले सामुहिक बलात्कारसम्म गरेको आरोप लागेको थियो।
बलात्कारपछि उनले महिलाको परिवारलाई पनि आक्रमण गरेका थिए। घटना सार्वजनिक गरेको भन्दै विधायकले युवतीका पितालाई नक्कली मुद्दा खडा गरी थुनामा पठाएका थिए। लगत्तै उनको हत्या पनि भएको थियो। यो मामलाको सुनुवाई गर्न दिल्लीको एम्स अस्पतालमै अदालत निर्माण गरिएको थियो।
कुलदीप उत्तर प्रदेशको उन्नावको बांगरमउ क्षेत्रबाट चार पटकसम्म लगातार विधायक निर्वाचित भएका थिए। यो प्रकरणमा सेंगरसहित सातजना अभियुक्तविरुद्ध आरोपपत्र दायर भएको थियो। सन् २००२ मा कांग्रेसबाट उनले राजनीति सुरु गरेका थिए।
तर उनी पछि भाजपाबाट राजनीतिमा सक्रिय भएका थिए। सन् २००२ बाट उनी लगातार विधायक भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।