पोखरा- दोस्रो पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेटमा सुपर ओभर पुगेको खेलमा बुटवल ब्लास्टर्ससँग काठमाडौं गोल्डेन वारियर्स पराजित भएको छ।
सुपर ओभरमा पहिले ब्याटिङ गरेको बुटवलले १२ रन बनाएको थियो। जसमा १३ रनको लक्ष्य पछ्याएको काठमाडौंले दुई रन मात्र बनाउन सक्यो। सुपर ओभरमा गौरव तमोरलाई आउट बनाएका अभिनाशले निकै किफायति बलिङ गर्दै टिमलाई जिताएका हुन्।
त्यसअघि काठमाडौंले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको बुटवलले पूरा ओभर खेल्दै ७ विकेट जाँदा १ सय ४० रनमा बराबरी बनाएको थियो।
पहिलो खेलमा पोखरा पल्टनसँग ९ विकेटले हारेको काठमाडौं गोल्डेन वारियर्सको यो लगातार दोस्रो हार हो।
खेल सुपर ओभरमा जानुअघि अन्तिम ओभरमा ९ रन चाहिँदा पवनको बलिङमा शिवमले पहिलो र दोस्रो बलमा आएको एक–एक रन लिएनन्। उनले तेस्रो बलमा पनि आएको रन नलिइँ चौथो बलमा एक वाइड रन पाए। त्यसलगत्तैको बल शिवमले छक्का लगाए। दुई बलमा दुई रन चाहिँदा शिवमले पाँचौ बलमा एक रन लिए। अन्तिम बलमा विपिन खत्री आउट भएपछि खेल सुपर ओभरमा गएको हो।
.JPG)
बुटवलका लागि ओपनिङमा आएका अफ्ताबुद्धिन अहमदले १४ बलमा १४ रन र शंकर रानाले २३ बलमा २० रन बनाए। भिम सार्कीले १४ बलमा १३ रन, हर्श टोन्कले २९ बलमा ४५ रन बनाए। सोमपाल कामीले १४ बलमा ११ रन बनाए। हरि गौचन दुई बल खेलेर रन नबनाइ आउट भए। शिवम सिंहले २१ बलमा अविजित ३३ रन बनाए।
काठमाडौंका सुवोध भाटी र सुशन भारीले दुई–दुई साथै सुर्य तामाङ, पवन सर्राफ र अमर सिंह रौटेलाले एक–एक विकेट लिए।
यसअघि बुटवल ब्लास्टर्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको काठमाडौं गोल्डेन वारियर्सले २० ओभर पूरा खेल्दै ६ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो।
जसमा सातौं क्रममा ब्याटिङमा आएका पवन सर्राफले २१ बलमा ३७ रन बनाएका थिए। यस्तै अमर सिंह रौटेलाले १७ बलमा १४ रन बनाए। दुवैबीच ५१ रनको साझेदारी भएको थियो।
.JPG)
काठमाडौंका लागि ओपनिङ ब्याटिङमा आएका जय किशन कोल्सावालाले २४ बलमा २८ रन बनाए। अर्का ओपनिङ ब्याट्सम्यान सुवास खकुरेल २२ बलमा १५ रन बनाउँदा रन आउट भए। तेस्रो क्रममा आएका गौरव तोमर पनि ५ बलमा १ रन बनाउँदा रनआउट भए।
कप्तान ज्ञानेन्द्र मल्ल १५ बलमा १५ रन बनाउँदा आउट भए। सुवोध भाटी दुई बल खेलेर बिनारन आउट भए। आदिल खान १५ बलमा २३ रन बनाउँदा आउट भए।
बुटबल ब्लास्टर्सका नितेश थापाले दुई विकेट लिए। अभिनाश बोहरा र हरि चौहानले एक–एक विकेट लिए।
यसअघि आजै भएको पहिलो खेलमा एक्सपर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई ५ रनले हराएको थियो। मंगलबार बिहान साढे ११ बजे एक खेल मात्र हुनेछ। जसमा पोखरा र चितवन खेल्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।