काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सहभागी हुने वा नहुनेबारे निर्णय गर्न पौडेल पक्षको बेग्लै बैठक बस्न लागेको छ।
सो समूहले सोमबार दिउँसो ३ बजे नेता रामचन्द्र पौडेलको निवास बोहोराटारमा छलफल गरेर रणनीति तय गर्न लागेको हो।
सभापति शेरबहादुर देउवाले महाधिवेशनको मिति नतोकेको र आफ्नो सुविधामा विभाग बनाएको भन्दै संस्थापन इतरका समूह असन्तुष्ट छन्।
पौडेल पक्षले बिहीबार र आइतबारको बैठक बहिष्कार गरेको थियो।
१४ औं महाधिवेशनको कार्यतालिका केन्द्रीय समितिको बैठकमा मुख्य एजेन्डा बनाउनुपर्ने माग गर्दै बैठक बहिस्कार गरिरहेको पौडेल पक्षले भ्रातृ संस्था र विभागमा हिस्सेदारीको नयाँ मागसमेत थपेको छ। पौडेल पक्षका मागमा महाधिवेशन कार्यतालिका बैठकमा पेश गर्नुपर्ने, नेपाल विद्यार्थी संघ र तरुण दलमध्ये एकको नेतृत्व दिनुपर्ने, विभाग २८ मात्रै बनाउनुपर्ने र क्रियाशील सदस्यता छानबिन समिति गठन गर्नुपर्ने लगायतका विषय छन्।
शीर्ष नेताबीच सहमतिको वातावरण बनाउन दोस्रो तहका नेताहरुले आन्तरिक छलफल तीव्र बनाएका छन्।
पौडल पक्षलाई मनाउन भन्दै सोमबार बिहान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडल पक्षका दोस्रो तहका नेताहरु प्रकाशमान सिंह निवास चाक्सीबारीमा जम्मा भएका थिए ।
बैठकमा देउवा पक्षबाट बिमलेन्द्र निधि थिए भने पौडेल पक्षबाट सिंह, दिलेन्द्रप्रसाद बडु र हृदयराम थानी उपस्थित थिए।
महाधिवेशनको मिति तोकेर सोहीअनुसार अघि बढ्नुपर्ने उनीहरुको माग छ।
सभापति देउवा भने विधान र संविधानले दिएको सुविधा प्रयोग गरी यथाशक्य ढिलो महाधिवेशन गर्ने रणनीतिमा अघि बढिरहेको पौडेल पक्षको बुझाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।