पोखरा- पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेटको दोस्रो खेलमा एक्सपर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई ५ रनले हराएको छ। १ सय १८ रनको लक्ष्य पछ्याएको विराटनगरले पूरा ओभर खेल्दै ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो।
अन्तिम ३ ओभरमा २४ रन आवश्यक हुँदा राजेश पुलामी मगरलाई धनगढीका कप्तान दिपेन्द्रले क्याच आउट बनाएका थिए। राजेशले ४ बलमा २ रन मात्रै बनाए। त्यही विकेटले फेरिएको खेलमा अन्तिम ओभरमा १५ रन आवश्यक थियो।
दिपेन्द्रले नै गरेको अन्तिम ओभरको पहिलो बलमा नै १८ बलमा १५ रन हानेका पुनित मेहरालाई बोल्डआउट गरिदिएका थिए। दोस्रो बलमा डट गरेका उनले तेस्रो बल छक्का खाए। किशोर महतोले छक्का लगत्तै चौथो बलमा दुई रन हानिदिए। दिपेन्द्रले पाँचौँ बलमा किशोरकै विकेट लिए। अन्तिम बलमा ७ रन आवश्यक हुँदा शाहब आलमले बाउन्ड्री लगाउन सकेनन्।
विराटनगरका लागि ओपनिङ ब्याटिङमा आएका मोहम्मद जायद आलम र दिलिप नाथ दुवै बिनारन आउट भएपछि सुरुदेखि नै टिम दबाबमा परेको थियो। मोहम्मद पहिलो बलमा नै आउट भएका थिए भने दिलिपले दुई बल खेलेका थिए।
तेस्रो क्रममा ब्याटिङमा आएका प्रदीप सिंह ऐरीले २९ बल खेलेर १० रन मात्रै बनाए। सुनिल धमलाले २१ बलमा १८ रन बनाए। नोमन खानले १४ बलमा ११ रन र राजु रिजालले २२ बलमा २५ रन बनाए।
धनगढीका लागि कप्तान दिपेन्द्रले तीन विकेट लिए। सागर ढकालले दुई साथै कमल सिंह ऐरी, अमित यादव र अनिल खरेलले एक–एक विकेट लिए।
यसअघि पोखरा रंगशाला क्रिकेट मैदानमा भएको खेलको पहिलो इनिङमा पूरा २० ओभर खेल्दै धनगढीले ८ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो।
विराटनगरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको धनगढीका रोड्रिगो थोमसनले १३ बलमा १६ रन बनाएका थिए। सन्दीप सुनारले ६ बलमा ३ रन बनाए।
तेस्रो क्रममा ब्याटिङमा आएका श्रीमान्थ विजयारत्नेले २५ बलमा २५ रन बनाए। कप्तान दिपेन्द्र सिंह ऐरी बिनारन आउट भए। सन्दीप जोराले १४ बलमा ७ रन, अमित यादवले ६ बलमा ३ रन, सौरभ खनालले १८ बलमा १२ रन, मन्जित श्रेष्ठले १५ बलमा ११ रन बनाए।
सातौं क्रममा ब्याटिङमा आएका कमल सिंह ऐरीले २१ बलमा २६ रन बनाएर टिमलाई अलि उकासेका थिए। २ चौका २ छक्का हानेका उनी अविजित रहे।
विराटनगर टाइटन्सका शाहब आलमले तीन विकेट लिए। नोमन खानले दुई साथै किशोर महतो, पुनित महरा र मोहम्मद जैद आलमले एक–एक विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।