काठमाडौं- १४ औं महाधिवेशनको कार्यतालिका केन्द्रीय समितिको बैठकमा प्रस्ताव ल्याउनुपर्ने माग गरेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भ्रातृ संस्था र विभागमा हिस्सेदारीको नयाँ मागसमेत थपेको छ।
गत दुई दिनका बैठकमा अनुुपस्थित रहेको उक्त समूहले चार माग सम्बोधन गर्नुपर्ने अडान लिएको छ। समग्रमा सहमति नभए सोमबारको केन्द्रीय समितिको बैठक पनि बहिष्कार गर्ने पौडेल पक्षीय केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए। पौडेल पक्षले उठाएका मागमा महाधिवेशन कार्यतालिका बैठकमा पेश गर्नुपर्ने, नेपाल विद्यार्थी संघ र तरुण दलमध्ये एकको नेतृत्व दिनुपर्ने, विभाग २८ मात्रै बनाउनुपर्ने र क्रियाशील सदस्यता छानबिन समिति गठन गर्नुपर्ने छन्।
बिहीबार र आइतबार बैठक बहिष्कार गरेको उक्त समूहका नेताहरुको आइतबार साँझ बसेको बैठकले थप मागसहित समग्रतामा सहमति हुनुपर्ने निर्णय गरेको हो। महामन्त्री डा शशांक कोइरालाको निवास महाराजगन्जमा पौडेल पक्षका शीर्ष नेताहरुको आइतबार साँझ बैठक बसेको थियो। केन्द्रीय समितिको बैठक बहिष्कार गरि पाथिभरा दर्शनमा पुगेका वरिष्ठ नेता पौडेल फर्केलगत्तै कोइराला निवासमा छलफल भएको थियो। बैठकमा पौडेल,कोइराला ,प्रकाशमान सिंह लगायतका नेताहरु थिए।
संस्थापन पक्षसँग वार्ताका लागि पौडेल पक्षले नेता सिंहको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएको छ। उक्त कार्यदलमा दिलेन्द्रप्रसाद बडु र हृदयराम थानीसमेत छन्। संस्थापन पक्षले उपसभापति विमलेन्द्र निधिलाई वार्ताको लागि खटाएको छ।
पछिल्लो जानकारी अनुसार नेता सिंहको निवास चाक्सीबारीमा दुई पक्षीय नेताको बैठक सुरु भएको छ। बैठकमा उपसभापति विमलेन्द्र निधि, सिंह ,बडु र थानी सहभागी छन्। केन्द्रीय सदस्य कल्याण गुरुङले आफ्नो पक्षका माग सम्वोधन गर्ने पूर्व सहमति भएमात्रै बैठकमा उपस्थित हुने जानकारी दिए।
गत माघमा कार्यकाल सकिएको नेविसंघ र मंसिर १ बाट कार्यकाल सकिएको अर्को भ्रातृ संस्थाको तदर्थ समितिको नेतृत्वको हकदाबी गरेको छ। संस्थापन पक्षले उठाएको अर्को मुद्धामा नरहरी आचार्य संयोजक रहेर बनेको क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन एक प्रति वार्ता कार्यदललाई पनि उपलब्ध गराउनुपर्ने उल्लेख छ। आचार्य संयोजक रहेको कार्यदलले तयार गरे अनुसार सबै जिल्लाको क्रियाशील सदस्यताको नामावली उपलब्ध गराउन माग गरिएको छ। विधान अनुसार विभाग २८ वटा बनाउन माग गरेको उक्त समूहले विभागमा आफ्नोसमेत सम्मानजनक हिस्सेदारी माग गरेको छ।
सहमतिमा नआउने तथा विधानको पद्धतिमा विश्वास नगर्ने पौडेल पक्षलाई लागेको आरोपबारे नेता गुरुङले भने, ‘‘उहाँहरुले जे–जे भने त्यही त्यहीमा सहमति हुनुपर्ने पनि त होइन। दुवै पक्षका कुरा दुबै पक्षले मान्नु नै सहमति हो।’
पौडेल पक्षले वार्ता टोलीले प्याकेजमा सबै विषयमा सहमतिका टुंगो लगाइसकेपछि मात्रै केन्द्रीय समिति बैठक बस्नुपर्ने अडान लिएको छ।
गत बिहीबारदेखि बोलाइएको केन्द्रीय समितिको बैठक पौडेल पक्षको अनुपस्थितिले औपचारिक प्रस्तावमा छलफल हुन सकेको छैन। पार्टी सभापति शेरबहादुर देउवा निकट नेतृ डिला संग्रौलाले अर्को पक्षलाई पनि सहमतिमै लानका लागि बैठकमा प्रस्तावित एजेण्डामा छलफल नभएको बताइन्। उनले भनिन्, ‘भागबण्डाको विषय उठाउनु भएको छ। सहमतिमा बैठक अघि बढ्छ।’
तेश्रो धारका रुपमा परिचित नेता कृष्णप्रसाद सिटौला समूहका नेताहरुले भने पार्टी भित्रको पछिल्लो घटनाक्रम बारे कुनै प्रतिक्रिया दिएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।