काठमाडाैं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे स्थायी कमिटी बैठकमा अध्यक्षद्वयका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रस्तुत गरेकाे राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु हुँदैछ।
आइतबारबाट सुरु भएकाे चौथो स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले सरकारको काम कारबाही, राजनीतिक घटनाक्रम, वर्तमान अवस्था र पार्टीको आगामी कार्यदिशालगायत विषय समेटेर राजनीतिक प्रतिवेदन पेस गरेका थिए।
अध्यक्षद्वयका तर्फबाट प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि सोमबार बिहान ११ : ०० बजेदेखि छलफल प्रारम्भ हुनेछ। सोमबारदेखि सदस्यले प्रतिवेदनमाथि आ-आफ्ना धारणा राख्ने छन्।
स्थायी कमिटीको आइतबारकाे बैठकले आगामी दिनका बैठक र पार्टीको काममा नियमित तथा सक्रियतापूर्वक सहभागिता हुने विश्वासका साथ प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना सहितको प्रस्ताव पनि पारित गरेको थियाे।
ठिक एक वर्षपछि नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा हिजाेदेखि प्रारम्भ भएको बैठकमा अध्यक्ष प्रचण्डले सात उपशीर्षकको १६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका थिए।
राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति, पार्टी एकताको सुदृढीकरण, सरकारका काम-कारबाही र उपनिर्वाचनको समीक्षा, यसअघि सचिवालयले गरेका निर्णयको अनुमोदन तथा पार्टीको आगामी कार्ययोजना सम्बन्धी विषय प्रतिवेदनमा समावेश छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।