काठमाडौं- वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई सहमतिमा आउनका लागि कांग्रेस संस्थापन पक्षले थप एक दिन कुर्ने भएको छ।
केन्द्रीय समितिको बैठकमा दोश्रो दिन पनि पौडेल पक्ष अनुपस्थित भएपछि आइतबारको बैठक औपचारिक प्रस्तावमा प्रवेशै नगरी सकिएको छ। बैठकमा तीनजना मात्रै बोलेका थिए।
उपसभापतिद्वय विमलेन्द्र निधी, विजय गच्छदार र नेता रमेश लेखकले आफ्नो धारणा राखेका थिए।
१४ औं महाधिवेशनको कार्यतालिका सहितको प्रस्ताव बैठकमा पेश नहुन्जेल पौडेल पक्षले बहिष्कार गर्ने अडान लिँदै आएको छ। बैठक बहिष्कार गरी पौडेल पाथिभराको दर्शनमा निस्किएका थिए।
सोमबारको बैठकमा समेत पौडेल पक्षका नेता उपस्थित नभए बहुमतीय आधारमा बैठकले निर्णय गर्ने केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी गराए।
उपसभापतिद्वयले संवैधानिक परिषद्को कार्यविधि सम्बन्धमा सरकारले ल्याउन लागेको अध्यादेशले सरकार सर्वसत्तावादतिर जान लागेको आरोप लगाएका थिए।
अर्का नेता लेखकले निर्वाचन अनुगमनको समिक्षा प्रतिवेदन बैठकमा पेश गरेका छन्।
निर्धारित समयभन्दा दुइ घण्टा ढिलो बसेर बैठक सकिएको थियो। बैठकमा संस्थापन पक्षका मात्रै केन्द्रीय सदस्य उपस्थित थिए। अर्को बैठक सोमबार दिउँसो १ बजे बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।