काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक आइतबारबाट सुरु भएको छ।
बैठक ठीक एक वर्षपछि सुरु भएको र केही महत्त्वपूर्ण एजेन्डाहरु रहेका झलनाथ खनालले बताए।
'सबैभन्दा महत्त्वपूर्ण एजेन्डा राजनीतिक प्रतिवेदन अध्यक्षले प्रस्तुत गर्नुभयो', उनले भने, 'विधान संशोधनको प्रस्ताव महासचिवले प्रस्तुत गर्नुभएको छ।'
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदनबारे संक्षिप्त समीक्षा गरेका थिए। स्थायी समिति बैठक पनि धेरै ढिला सुरु भएको भन्दै कमजोरी भएको उनले बताएका थिए।
'पार्टी बैठक ढिला भएको छ। यसमा गम्भीर त्रुटीहरु छन्। यसलाई आगामी दिनमा दोहोरिन नदिने प्रतिबद्धता उहाँले जनाउनुभयो', बैठकपछि भीम रावलले भने।
आजको बैठकले प्रधानमन्त्रीको स्वास्थ्य लाभको प्रस्ताव पारित गरेको छ।
आइतबारको बैठक सकिएको छ। बैठक सोमबार बिहान ११ बजे पुन बस्नेछ।
बैठक किन एक वर्षमा?
बैठकमा सुरु हुनासाथ बैठकमा सहभागी नेताहरु भीम रावल र रघुजी पन्तले बैठक किन एक वर्षमा बसेको भन्दै प्रश्न गरेका छन्।
नेकपाको विधानमा स्थायी समिति बैठक प्रत्येक तीन महिनामा बस्ने प्रावधान छ।
उनीहरुको बोल्ने पालो सोमबार तोकिएको छ। तर, त्यसअघि नै उनीहरुले आफू बसिरहेको स्थानबाट प्रश्न सोधेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।