पोखरा- दोस्रो सिजनको पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेटको पहिलो खेलमा पोखरा पल्टनले काठमाडौं गोल्डेन वारियर्सलाई ९ विकेटले हराएको छ। काठमाडौंले दिएको १ सय १६ रनको लक्ष्य पोखराले १४.१ ओभरमा १ विकेट जाँदा पूरा गरेको हो।
पोखराको जितमा कुशल भुर्तेलले अर्धशतकीय पारी खेले। ४३ बलका खेलेका उनले ६५ रन बनाएका हुन्। उनले ४ चौका र ५ छक्का हाने। यस्तै ओपनिङमा आएका आसिफ शेखले १० बलमा १४ रन बनाए। रवि इन्द सिंहले ३२ बलमा ३८ रन बनाए। उनले ५ चौका १ छक्का हाने। कुशल र रविले ८८ रनको साझेदारी गरे।
काठमाडौंका सुशन भारीले एक विकेट लिन मात्र सकेका थिए।
त्यसअघि गएको वर्ष भएको पहिलो सिजनको विजेता पोखरा पल्टनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको काठमाडौं गोल्डेनले निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो।
ओपनिङमा आएका जयकिशन कोल्सावाला र सुवास खकुरेलले १८ रनको मात्रै साझेदारी गर्न सके। तेस्रो ओभरको चौथो बलमा कोल्सावाला व्यक्तिगत ९ रन बनाउँदा आउट भएका थिए। ६ बल खेलेर २ चौका हानेका उनी प्रथमेस डाकेको बलमा विकेटकिपरमार्फत क्याच आउट भए।
.JPG)
अर्का ओपनर खकुरेलले पनि १२ बल खेलेर ६ रन मात्र बनाउन सके। १ चौका हानेका उनी ललित नारायण राजबंशीको बलमा आउट भएका थिए।
तेस्रो क्रममा ब्याटिङमा आएका कप्तान ज्ञानेन्द्र मल्लले पनि सम्हालिएर खेल्न सकेनन्। उनी ५ बलमा १ रन बनाउँदा रसिद खानको बलमा बोल्डआउट भए। गौरव तोमरले ७ बलमा १३ रन बनाए। पवन सर्राफले १८ बलमा ६ रन, पृथ्वु बाँस्कोटाले १६ बलमा ७ रन बनाए।
सातौं विकेटका लागि सुवोध भाटी र बसन्त रेग्मीबीच ३८ रनको साझेदारी भयो। भाटी २९ बलमा ४५ रन बनाउँदा सर्वजित लड्डाको बलमा आउट भए। उनले ४ चौका र ४ छक्का हानेका थिए। बसन्त रेग्मी १३ बलमा ८ रन बनाउँदा आउट भए।
पोखराका ललित राजबंशी, कुशल मल्ल र रसिद खानले दुई–दुई साथै प्रथमेस डाके र सर्वजित लड्डाले एक–एक विकेट लिए।
शनिबार हुनुपर्ने पहिलो खेल पोखराको मौसम बिग्रिएका कारण एक दिन सरेर आइतबार भएको हो। पहिलो खेलमा दर्शकको उपस्थिति पनि राम्रो रह्यो।
(1).JPG)
.JPG)

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।