काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि वरिष्ठ नेता राम्रचन्द्र पाैडेल पक्षधरले बहिष्कार गर्ने भएको छ। बैठक आइतबार दिउँसो १ बजे बोलाइएको छ।
पौडेल पक्षधर नेता कल्याण गुरुङले आफूहरुको माग सम्बोधन नभएकाले आजको बैठक पनि बहिस्कार गर्ने बताए।
यसअघि पनि संस्थापन इतर समूहले बैठक बहिस्कार गरेको थियो। बिहीबार बसेको बैठकमा नेपाली कांग्रेसको संस्थापन इतर समूह अनुपस्थित थियो।
पार्टी सभापति शेरबहादुर देउवाले विभाग गठन र कार्यसम्पादन समिति गठनमा एकलौटी गर्न लागेको आरोप लगाउँदै संस्थापन इतरका नेताहरुले बैठक बहिष्कार गरेका हुन्। पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर महामन्त्री डा शशांक कोइराला बैठकमा प्रवेश नै नगरी बाहिरिएका थिए।
संस्थापन पक्षले बहुमतका आधारमा प्रस्तावित एजेण्डा पारित गर्ने तयारी गरेपछि इतर समूहका नेताहरु बैठकमा अनुपस्थित भएका थिए।
माग
‘आजकाे बैठकमा पनि हामीहरु अनुपस्थित हुन्छौं,’ केन्द्रीय सदस्य गुरुङले नेपाल लाइभसँग भने, ‘वरिष्ठ नेता रामचन्द्र पौडेलको अडानअनुसार १४ औं महाधिवेशनको कार्यतालितकाको विषयलाई केन्द्रीय कार्यसमितिको पहिलो र मुख्य एजेन्डा नबनाएकाले आजको बैठकमा पनि उपस्थित नहुने भएका हौं।’ गुरुङले माग सम्बाधोन नभएसम्म आफूहरु बैठकमा उपस्थित नहुने बताए।
१४औं महाधिवेशनको कार्यतालिकालाई सभापति देउवाले बिहीबारकाे बैठकमा पनि एजेण्डा बनाएका थिएनन्। सभापति देउवाले ९ बुँदे एजेण्डा बैठकमा पेश गरेका छन्।
१४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने, बढाइएको विभागहरु हटाइनुपर्ने, भ्रातृसंस्थाहरुको महाधिवेशन ६ महिनाभित्र गरिसक्नुपर्नेलगायतका विषयमा दुई पक्षबीच सहमति बनेको छैन।
संस्थापन पक्षका केन्द्रीय सदस्यहरुको बैठक जारी रहेपनि पौडेल र सिटौला पक्षका नेताहरु वरिष्ठ नेता पौडेलको कक्षमा बसिरहेका थिए। पौडेलको कार्यकक्षमा उनीसहित कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु डा राम शरण महत, प्रकाशमान सिंह, डा मिनेन्द्र रिजाल थिए।
नेताहरु दिलबहादुर घर्ति, कमला पन्त, दीपक गिरी, जीवन परियार, गुरु घिमिरे, बद्री पाण्डे, प्रदीप पौडेल, नविन्द्रराज जोशी, हृदयराज थानी, चन्द्र भण्डारी, रामकृष्ण यादव, दिलेन्द्रप्रसाद बडु, कल्याण गुरुङ, सरिता प्रसाईंलगायत कार्यालय पुगेर पनि बैठकमा सहभागी भएका थिएनन्।
देउवाको फकाउने प्रयास
पौडलेलाई फकाउने उपाय स्वरुप आजको केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि पनि संस्थापन पक्ष र पौडेल पक्षबीच छलफल हुने बताइएको थियो। आन्तरिक विवाद मिलाउन सभापति देउवा शनिबार वरिष्ठ नेता पौडेल निवासमा पुगेका थिए। उपसभापति विमलेन्द्र निधिसहति पौडेल निवास बोहोराटार पुगेका देउवाले छलफल गरेका थिए।
त्यस्तै कांग्रेसको आन्तरिक विवाद मिलाउन देउवा र पौडेलपक्षका नेताबीच शनिबार साँझ पनि छलफल भएको थियो।
प्रकाशमान सिंह निवास चाक्सीबारीमा भएको भेटमा देउवाका तर्फबाट उपसभापति विमलेन्द्र निधि उपस्थित थिए। छलफलमा केन्द्रीय समितिको बैठकअघि ती विषय सम्बोधन हुने गरी प्रस्ताव आउने प्रतिबद्धता जनाए बैठकमा सहभागी हुने अन्यथा बहिस्कार गर्ने पौडेल पक्षले अडान राखेको थियो।
पौडेल पक्षले राखेका प्रस्तावमा छलफल गर्ने गरी बैठक टुंगिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।