रुकुम- रुकुम पश्चिमको आठविसकोट नगरपालिका– ९ राडीकी १३ वर्षीया सुशीला बादी अहिलेसम्म एकपटक पनि विद्यालयमा पुगेकी छैनन्।
आफ्ना साथीहरु अहिले ५, ६ कक्षामा पढ्छन् तर सुशीलाले भने विद्यालयको मुख देखेकी छैनन्। उनलाई पढ्न रहर नभएको भने होइन तर घरको आर्थिक अवस्था कमजोर भएका कारण पढ्नबाट वञ्चित भएकी छन्। केही वर्षपहिले उनका बुबाको मृत्यु भएपछि घरमा आम्दानीको स्रोत केही नभएकाले विद्यालय जान नसकेको उनको भनाइ छ।
उनीजस्तै सोही ठाउँकी १० वर्षकी सरिता बादी पनि अहिलेसम्म विद्यालय गएकी छैनन्। सुशीला र सरिताजस्तै यहाँका १५ घर बादी समुदायका ३४ जना छात्राले अहिले पनि विद्यालय शिक्षा लिन पाएका छैनन्।
केहीले छोरालाई विद्यालयमा पठाउने गरे पनि छोरी भने दिनभर आफ्नै घरको र केही अर्काको काम गर्न बाध्य भएका छन्। नगरपालिका–९, राडीको छेउमा रहेको ठूलीभेरी नदी किनारमा बस्दै आएका यहाँका बादी परिवारका छोरी पढ्ने रहर हुँदाहुँदै पनि आर्थिक अभावका कारण उनीहरू पढ्ने लेख्ने मौलिक हकबाट वञ्चित छन्।
कपी, कलम र विद्यालय पोशाक किन्न सक्ने अवस्था नरहेपछि आफूहरू विद्यालय जान नपाएको सुशीलाले बताइन्। गाउँका अन्य जातका छोरी विद्यालयमा जाँदा आफूहरुलाई पनि रहर जागेर आउने उनको भनाइ छ।
साँझ बिहानको छाक टार्न धौधौ भइरहेका बेला छोरीहरुलाई पढाउन नसकिएको सुशीलाकी आमा मनकुमारीले बताइन्।
'बिहान के खाऊँ, बेलुकी के खाऊँ छ, अर्कैको घरमा बसेका छौँ,' मनकुमारीले भनिन्, 'आउने ठाउँ नै नभएपछि पेट भर्ने कि छोरीलाई विद्यालय पठाउने भन्ने समस्या छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।