काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा बस्ने भएको छ। बैठक यसअघि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको भएपनि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बैठकमा सहभागी हुने इच्छा जाहेर गरेपछि बालुवाटार सारिएको हो।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बालुवाटारमा सचिवालय बैठक सुरु हुन लागेको जानकारी दिए। दिउँसो बस्ने स्थायी समिति बैठकमा पेस गरिने एजेन्डामाथि सचिवालय बैठकमा छलफल हुने श्रेष्ठले नेपाल लाइभलाई जानकारी दिए।
उनका अनुसार स्थायी समिति बैठक भने दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमै बस्ने छ। मंसिर २३ गते बसेको सचिवालय बैठकले स्थायी समितिको मिति तय गरेको थियो।
विधानमा ३/३ महिनामा बस्नुपर्ने भनिएको स्थायी समिति बैठक ठीक एक वर्षपछि बस्न लागेको हो। अघिल्लो वर्ष पनि मंसिर २९ गतेदेखि बैठक बसेको थियो। बैठक दुई हप्तासम्म लम्बिएको थियो।
२३ गतेको सचिवालय बैठकले नै २७ गते स्थायी समिति बैठक बस्ने निर्णय गरेको थियो। तर, अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' राजनीतिक प्रतिवेदन लेखनमा व्यस्त भएपछि बैठक २८ र पुनः २९ गतेलाई सरेको थियो।
प्रचण्डले ६ महिने कार्ययोजना पेस गर्ने
स्थायी समिति बैठकमा नेकपाका अर्का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आगामी ६ महिने कार्ययोजना तयार पारेको राजनीतिक प्रतिवदेन पेस गर्नेछन्।
२७ गते नै बस्ने तय गरिएको नेकपा सचिवालय बैठक प्रचण्डलाई राजनीतिक प्रतिवेदन लेख्न समय लागेकाले सारिएको थियो।
खुमलटार आसपासकै अर्को एउटा घरमा २ दिन गुप्तबास बसेर प्रचण्डले प्रतिवेदन तयार पारेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।