राजविराज- यहाँको एक स्वास्थ्य चौकीमा प्रसूति गृहबाट सेवा लिने सेवाग्राहीलाई थप रु एक हजार दिएर पुरस्कृत गर्ने घोषणा गरिएको छ।
जिल्लाको सुरुङ्गा नगरपालिका–१ पिप्रापश्चिमस्थित स्वास्थ्य चौकीमा प्रसूति गृहबाट सेवा लिनेलाई सो रकम दिएर पुरस्कृत गर्ने निर्णय गरेको स्वास्थ्य चौकीले जनाएको छ।
उक्त स्वास्थ्य चौकीमा सेवाग्राहीलाई सरकारले दिँदै आएको सुत्केरी भत्तामा थप रु एक हजार दिइने सुरुङ्गा नगरपालिका–१ का वडाध्यक्ष मुक्तिकुमार कार्कीले घोषणा गरेका हुन्।
सो वडाका वडाध्यक्ष कार्कीले सेवाग्राहीका बच्चाका लागि बेवी सेटसमेत उपलब्ध गराउने बताए। हाल सरकारले प्रसूति गृहको सेवा लिँदा यातायातबापत रु ५०० र प्रोत्साहन भत्तास्वरुप रु ४०० तथा न्यानो कपडा उपलब्ध गराउँदै आएको छ।
सेभ द चिल्ड्रेनको साझेदारीमा सबल नेपालद्वारा सञ्चालित स्पोन्सरसीप परियोजनाअन्तर्गत पिप्रा पश्चिम स्वास्थ्य चौकीमा प्रसूति गृह निर्माण गरिएको छ।
रु ५ लाख मूल्य बराबरको आर्थिक सहयोगमा निर्माण गरिएको प्रसूति गृहमा दैनिक सेवा लिने सेवाग्राहीको भीड लाग्ने गरेको सबल नेपालका प्रमेश्वर झाले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।