काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उनकै निवास पुगेका छन्।
सभापति देउवा उपसभापति विमलेन्द्र निधिसहित पौडेल निवास बोहराटार पुगेका हुन्। शीर्ष दुई नेता आफ्नो निवासमा आएको जानकारी गराउँदै वरिष्ठ नेता पौडेलले ‘पार्टी सहमति र सहकार्यमा सञ्चालन गर्नुपर्ने बारे छलफल’ भएको जानकारी दिए।
महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने अडान राखेको पौडेल पक्षसँग संस्थापनको सम्बन्ध चिसिएको छ। तल्लो तहका कार्यसमिति गठन नभइ महाधिवेशनको कार्यतालिका ल्याउन नसकिने संस्थापन पक्षको तर्क छ।
बिहीबार प्रस्ताव भएको विभागका संख्याप्रति पनि पौडेल पक्षको आपत्ति रहेको छ। देउवाले विभाग बढाएर ४१ पुर्याएका छन्।
छलफलका लागि पेश गरिएका एजेण्डामा कार्यतालिका समावेश नभएपछि पौडेल पक्षले बैठक बहिष्कार गरेको थियो। आन्तरिक सहमतिका लागि दुई दिन रोकिएको बैठक आइतबार पुनः बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।