काठमाडौं- पार्टीभित्रको विवाद अन्त्यका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच शनिबार भेट हुने भएको छ।
विभाग गठन गर्ने संस्थापन पक्षको प्रस्ताव र १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने वरिष्ठ नेता पौडेल पक्षको अडानले पार्टीमा किचलो थपिएको थियो। दुई नेताबीच सहमति पहिल्याउनका लागि बिहान १० बजे छलफल हुन लागेकाे हाे।
छलफलका लागि पार्टी सभापति देउवाले वरिष्ठ नेता पौडेललाई बोलाएका छन्। निर्वाचन समितिले तल्लो तहको कार्यसमिति गठन गरि नसकेकाले महाधिवेसनको कार्यतालिका सार्वजनिक गर्न तत्काल सम्भव नभएको संस्थापन पक्षको तर्क छ।
सभापति देउवाले केन्द्रीय समिति बैठकमा प्रस्ताव गरेका ४१ विभागप्रति पनि पौडेल समूहको आपत्ति रहेको छ। संस्थापन पक्षले आवश्यकताअनुसार विभाग थप्ने विधानकै प्रावधानअनुसार प्रस्ताव ल्याइएको दाबी गरेको छ।
२८ विभागलाई बढाएर ४१ बनाउने गरी देउवाले प्रस्ताव ल्याएका छन्। बिहीबारको बैठक बहिष्कार गरेको पौडेल समूहको शुक्रबार नेता प्रकाशमान सिंहको घरमा बैठक बसेको थियो। उक्त बैठकले महाधिवेशन कार्यतालिका ल्याउनका लागि दबाब दिने निर्णय समेत गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।