काठमाडौं- न्याय परिषद्को पत्रको आधारमा प्रधानन्यायाधीशबाट अवकाश पाएका गोपाल पराजुलीले पदबाट राजीनामा दिने तयारी गरेका छन्।
न्याय परिषद् सचिवालयले पठाएको अवकाश पत्र, सर्वोच्चमा नयाँ नेतृत्व आएको अवस्था लगायतका कारण पराजुलीले राजीनामा दिने मनस्थिति बनाएको स्रोतले बताएको छ। उच्च स्रोतका अनुसार, आजै राजीनामा आउने सम्भावना छ।
बुधबार न्याय परिषद् सचिवालयले अवकाश पत्र पठाएपछि पराजुलीले आज बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका थिए। सो क्रममा राष्ट्रपति भण्डारीले सर्वोच्चमा नयाँ नेतृत्व आइसकेको अवस्थामा फर्केर जाने बाटो नभएकाले सहज अवतरण खोज्न सुझाव दिएकी थिइन्।
न्याय परिषद् सचिवालयले उमेर हदका कारण प्रधानन्यायाधीश पराजुलीको पदावधि गत साउन २१ मै सकिएको भन्दै त्यसपछिको पदावधि अवैध भएको ठहरसहित बुधबार उनलाई अवकाश पत्र पठाएको थियो।
सोही पत्रका आधारमा सर्वोच्च प्रशासनले वरिष्ठतम न्यायाधीश दीपकराज न्यायाधीशलाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी दिएको छ। जोशीले बिहीबार पदभार सम्हाल्दै मुद्दाहरुको पेशी समेत तोकिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।