काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्लेअफमा नेपालले पपुवा न्युगिनी (पिएनजी) विरुद्धको खेलमा सातौं सफलता हात पारेको छ।
नेपालका लागि सन्दीप लामिछानले ४ विकेट लिएका छन्। करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिएका छन्। ऐरीले पिएनजीका लागि सवैभन्दा बढी रन बनाएका चार्ल्स अमिनीलाई १९ रनमा एलबिडब्लूको धरापमा पारे।
सन्दीपले किपलिप डोरिगालाई १० रनमा बोल्ड गर्दा माहुरु दाईलाई ५ रन बनाएर खेलिरहदा सोमपाल कामीबाट क्याच गराए। यस्तै उनले सेसे बाउलाई ११ रनमा बोल्ड गरे। त्यसअघि सन्दीपले चाड सोपरलाई १० रन बनाएर खेलिरहदा एलबिडब्लुको धरापमा पारेका थिए।
करण केसीले ओपनर टोनी उरालाई ११ रनमा आउट गरेका थिए। त्यसअघि अर्का ओपनर असद भाला १० रनमा पेभिलियन फर्के। उनलाई सोमपाल कामीले एलबिडब्लूको धरापमा पारे।
पिएनजीले २५ ओभरमा ११२ रन बनाउँदा ६ विकेट गुमाएको छ।
जिम्बावेको हरारेस्थित हरारियन स्पोर्ट्स क्लबमा खेल भइरहेको हो। खेलमा जित हात पार्ने टिम एकदिवसीय मान्यता नजिक पुग्नेछ।
४ वर्षका लागि प्राप्त हुने एकदिवसीय मान्यताले टिमको एक्सपोजर बढ्ने र आइसिसीबाट प्राप्त हुने अनुदान पनि बृद्धि हुने भएकाले प्लेअफको खेललाई महत्वपूर्ण मानिएको छ। खेलमा हार्ने टिम डिभिजन–२ मा झर्नेछ।
सुपर ६ पुग्न असफल भएको नेपालका लागि एकदिवसीय मान्यताको सुनौलो अवसर छ। त्यसका लागि नेपालले पपुवा न्युगिनीलाई पराजित गर्नुपर्ने हुन्छ।
एकदिवसीय मान्यताका लागि नेपालको ठूलो चुनौती ब्याटिङमा देखिएको छ। यो प्रतिस्पर्धामा बलिङमा औषत प्रदर्शन गरेको नेपालका प्रमुख ब्याट्सम्यान चल्नुपर्ने देखिन्छ। कप्तान पारस खड्का बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले जारी प्रतियोगितामा अर्धशतक प्रहार गर्न सकेका छैनन्। यद्यपी नेपालले हङकङलाई पराजित गर्दा रोहितकुमार पौडेलले नटआउट ४८ रन बनाएका थिए।
पुरानो हरारियन स्पोर्ट्स मैदानको तथ्यांक
पहिलो इनिङको औषत स्कोर : २९० रन
दोस्रो इनिङको औषत स्कोर : १९६ रन
मैदानको उच्च स्कोर : ३५७/४
मैदानको कम स्कोर : ९१/१०
उच्च लक्ष्य पार : २०१ रन
टिम नेपाल
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, अनिलकुमार साह, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी।
टिम पपुवा न्युगिनी
असद भाला (कप्तान), चार्ल्स अमिनी, सेसे बाउ, माहुरु दाइ, किप्लिन डोरिगा, जासोन किला, अलेइ नाओ, दामेइन राभु, , चाड सोपर, टोनी उरा, नोर्मान भनुवा ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।