काठमाडौँ– गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइन बी टेप्लिजले आज शिष्टाचार भेटवार्ता गरेकी छन्।
गृह मन्त्रालयमा भएको भेटमा दुई देशको सम्बन्ध, आपसी सहकार्य र सहयोगका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो।
भेटमा गृहमन्त्री थापाले नेपाल र अमेरिकाबीच ७० वर्षअघिदेखि कूटनीतिक सम्बन्ध रहिआएको बताउँदै यो अवधिमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ बन्दै गएको बताए।
उनले नेपालको विकास तथा सुरक्षा निकायको तालीम र भौतिक संरचना निर्माणलगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद दिए।
अमेरिकी राजदूत टेप्लिजले नेपालको गृहमन्त्रीका रुपमा कार्यभार सम्हालेकोमा मन्त्री थापालाई बधाई दिँदै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरेकी थिइन्।
उनले मानव तस्करी नियन्त्रण र भुटानी शरणार्थी एवम् तिब्बती शरणार्थीको व्यवस्थापनका विषयमा पनि आफ्ना धारणा राखेकी थिइन्।
अध्यागमन सुरक्षासम्बन्धी विषयमा अमेरिकी सरकारले सहयोग गर्न चाहेको तथा अमेरिकी नागरिकबाट नेपाल सरकारले लिने प्रवेशाज्ञा शुल्क पुनरावलोकन हुनुपर्नेलगायतका विषयमा पनि राजदुत टेप्लिजले जिज्ञासा राखेको बताइएको छ।
सो अवसरमा मन्त्री थापाले ती विषयहरु मन्त्रालयले अध्ययन गरिरहेको र सोही आधारमा भविष्यमा निर्णय लिइने जानकारी गराएका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।