लहान– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको नरहा गाउँपालिका– ३ स्थित चोहर्वामा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।
बिहीबार बिहान पूर्वबाट पश्चिम जाँदै गरेको स१क १७१ नम्बरको टिप्परले विपरीत दिशाबाट जाँदै गरेको स३प १४५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मिर्चैया नगरपालिका–७ फूलबरियाका २४ वर्षीय रामप्रताप यादवको मृत्यु भएको हो। घाइते भएका उनको मंगलम् हस्पिटल मिर्चैयामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको जनाएको छ।
गम्भीर घाइते २३ वर्षीय उदयचन्द्र यादवलाई थप उपचारका लागि काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।
दुर्घटनापछि टिप्पर चालक फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
ठक्करबाट एकको मृत्यु भएपछि आक्रोशित स्थानीयले चोहर्वा चोकमा चक्काजाम गरेका छन्। सो क्रममा पूर्व जाँदै गरेको बा४ख ८२० र बा४ख ६६८८ नम्बरको माइक्रो बसमा तोडफोड गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।