चितवन– जिल्ला कारागार, भरतपुरमा कैदीबन्दी राख्ने ठाउँको अभाव भएपछि ३० जना पुरुष कैदीबन्दीलाई मकवानपुरको भीमफेदी कारागार चलान गरिएको छ।
कारागारका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार गर्मी बढेसँगै सुत्न र बस्न कठिन भएपछि कैदीबन्दीलाई भीमफेदी चलान गरिएको हो।
कारागारको क्षमता २ सय ५५ जनाको भए पनि भरतपुर कारागारमा हाल ६ सय कैदीबन्दी रहेका छन्। भवनमा सुत्ने, बस्ने ठाउँ नभएर बाहिर राख्नु पर्ने, सुरक्षा दिन कठिन र कैदीबन्दीलाई असुविधा भएपछि ३० जना कैदीबन्दीलाई पठाइएको काफ्लेले बताए।
जिल्लामा गर्मी बढ्दै जाँदा रोग फैलिन सक्ने भएकाले क्षमताभन्दा बढी कैदीबन्दी राख्न उपयुक्त नभएकाले पनि पठाउनु परेको हो।
हाल कारागारमा पुरुष कैदी २ सय ६२, पुरुष थुनुवा २ सय ८०, महिला कैदी २१, महिला थुनुवा ३३ तथा २ नाबालक र २ जना नाबालिका रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।