एजेन्सी– गोलीगाँठोको शल्यक्रियापछि स्वास्थ्यलाभ गरिरहेका ब्राजिलियन स्टार नेइमार विवादित बनेका छन्। बुधबार निधन भएका वैज्ञानिक स्टेफेन हकिङलाई श्रद्धाञ्जली दिन नेइमारले इन्स्टाग्राममा पोष्ट गरेको एउटा फोटो सामाजिक सञ्जालमा विवादित बनेको हो।
फोटोमा नेइमार अर्धनग्न अवस्थामा देखिएका छन्। शल्यक्रिया गरेको दायाँ खुट्टामा सुरक्षित बुट लगाएका नेइमार ह्विलचियरमा बसेका छन्। सो फोटोसँगै उनले हकिङकै एक वाणीलाई क्याप्सन बनाएका छन्।
क्याप्सनमा लेखिएको छ– ‘तिमीसँग सकारात्मक दृष्टिकोण हुनुपर्छ र तिमी जस्तो अवस्थामा छौ, त्यसको अधिक फाइदा उठाऊ– स्टेफेन हकिङ।’
मोटोर न्युरोनबाट लामो समयदेखि पीडित वैज्ञानिक हकिङको बुधबार बिहान ७६ वर्षको उमेरमा निधन भएको थियो। हकिङ लामो समयदेखि ह्विलचियर प्रयोग गर्दै आएका थिए।
सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले हकिङको विकलांग अवस्थासँग नेइमारको हालको अवस्थाको कुनै पनि तुलना नहुने बताएका छन्। नेइमारले गलत मनसाय राखेर सन्देश दिन नखोजे पनि महान् वैज्ञानिकमाथि नै उपहास गरेको भनि टिप्पणी गरिएको छ।

एक ट्विटर प्रयोगकर्ताले लेखेका छन्,‘नेइमारको हालको ह्विलचियरमा बसेको अवस्था हकिङले जिन्दगीभर बिताएको ह्विलचियरको जिन्दगीसँग सामान्य तुलना पनि हुनसक्दैन।’

२१ वर्षको उमेरमा रोगको निदान भएपछि हकिङलाई २ वर्ष मात्रै बाँच्नसक्ने भनी चिकित्सकले बताएका थिए। तर, त्यसपछि पनि ५० वर्षभन्दा बढी बाँच्दै उनले रुग्ण शारीरिक अवस्थाका बीच पनि ब्रह्माण्डसम्बन्धी विविध अनुसन्धानबाट विशिष्ट उपलब्धि हासिल गरेका थिए।
पेरिस सेन्ट जर्मेन स्टार नेइमार आगामी विश्वकपसम्म मैदान पुग्ने लक्ष्यसहित आफ्नो शारीरिक तथा सकारात्मक मानसिक सोचमा समेत बदलाव ल्याउन प्रयासरत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।