कोलम्बो– भारत, श्रीलंका र बंगलादेश बीचको त्रिकोणात्मक टी–२० सिरिजमा भारत फाइनलमा प्रवेश गरेको छ। भारतले बुधबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई १७ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। अब श्रीलंका र बंगलादेशबीचको निर्णायक खेलको विजेता र भारतबीच उपाधिका लागि भिडन्त हुनेछ।
पहिले ब्याटिङ गरेको भारतले ३ विकेटको क्षतिमा १ सय ७६ रन बनायो। रोहितले अन्तिम बलमा रनआउट हुनुअघि ८९ रन जोडे। ६१ बल खेलेका उनले समान ५–५ चौका र छक्का प्रहार गरे। सुरेश रैनाले ४७ रन र शिखर धवनले ३५ रनको योगदान गरे।
१ सय ७७ रनको लक्ष्य पछ्याएको बंगलादेशले ६ विकेटको क्षतिमा १ सय ५९ रन मात्र जोड्न सक्यो। बंगलादेशका लागि मुस्फिकर रहिमले नटआउट ७२ रन जोडेपनि जितका लागि पर्याप्त हुन सकेन। उनले ५५ बलमा ८ चौका र १ छक्का प्रहार गरे। तमिम एकबाल २७ रन र सब्बिर रहमानले पनि २७ रन जोड्दा अन्य ब्याट्सम्यान चल्न सकेनन्। बलिङतर्फ भारतका वासिङटन सुन्दरले ३ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।