काठमाडौं- फिरन्ते जीवन बिताउने राउटे समुदायले प्रदेश सरकारसँग खसी र चामल माग गरेका छन्।
भत्ताले नपुग्ने भएपछि प्रदेश सरकारसँग खसी र चामल किनिदिन माग गरेको राउटे अगुवाले बताएका छन्। राउटे अगुवा हरिबहादुर शाहीले भने,‘मन्त्रीज्यूले तपाईहरुको नाममा बजेट छुट्याएको छ, त्यही बजेटबाट केही रकमको व्यवस्था गरौँला भन्नुभएको छ।’
हरिबहादुरसहित तीन राउटे अगुवाले बुधबार प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावललाई भेटेका थिए। राउटे अगुवाले आफूहरुका लागि ४६ खसी–बोका आवश्यक पर्ने बताएका छन् ।‘प्रति परिवार एउटा खसी–बोका चाहिने हुँदा आजै बन्दोबस्त मिलाइदिन मन्त्रीलाई आग्रह गरेका छौं’, अर्का अगुवा प्रकाश शाहीले भने,‘मन्त्रीज्यूले भोको बस्नुपर्दैन भन्नुभएको छ।’
दैलेखको गुराँस गाउँपालिकामा ४६ घरधुरी राउटे बस्दै आएका छन्। राउटे अगुवाले काठमाडौँमा भेट हुँदा उपप्रधानमन्त्री ईश्वर पोखरेलले खसी पठाउने आश्वासन दिएको सम्झिए।
राउटेहरुले शनिबार कूल देवता मस्टोको पूजो गर्दैछन् । राउटेले खस समुदायझै कूल देवताको रुपमा भुयाँर र दारेमष्टोको पूजा गर्ने प्रचलन छ। यो समुदायले मस्टो पूजा, साउने र माघे सङ्क्रान्ति पर्वलाई विशेष धुमधामका साथ मनाउने गर्दछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।