बार्सिलोना– अर्जेन्टिनी स्टार लियोनल मेसीको २ गोलको मदतले बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम ८ मा प्रवेश गरेको छ। घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा चेल्सीलाई ३–० ले पराजित गर्ने क्रममा मेसीले खेल सुरु भएको १ सय २८ सेकेन्डमै गोल गरेका थिए।
यी दुईबीचको पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो। गएरातिको जितसँगै समग्रमा बार्सिलोना ४–१ विजयी भयो।

चेल्सीका सेन्टर मिडफिल्डर केस्क फाब्रिगास आफ्नो स्थानमा कायम रहन नसक्दा मेसीको पासमा ओसमान डेम्बेलेले बार्सिलानाका लागि दोस्रो गोल गर्न सफल भए। बार्साको तर्फबाट आफ्नो पहिलो गोल गरेका डेम्बेलेले घरेलु दर्शकलाई खेल आफ्नो पकडमा रहेको विश्वास दिलाए। मेसीले २ डिफेन्डरलाई छक्काउँदै डेम्बेलेका लागि उत्कृष्ट पास निकालेका थिए।
पहिलो हाफको अन्त्यतिर चेल्सी खेलमा फर्किने कोशिष गरेको थियो। तर वेन्गर मार्कोस अलोन्सोले हानेको फ्रिकिक बारमा लागेको फर्कियो।

उता चेल्सीका सेन्टर ब्याक केसर अज्पिलिकुएटाले गरेको सानो गल्तीलाई मेसीले सदुपयोग गरे। खेलको ६३ मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गर्दै च्याम्पियन्स लिगमा बार्साको तर्फबाट आफ्नो गोल संख्या १ सय पुर्याए। यो सिजनमा मात्रै मेसीले ३४ गोल गरिसकेका छन्। जारी च्याम्पियन्स लिगमा भने उनको यो आठौँ गोल हो।
मेसीको १ सयौँ गोलपछि नाउ क्याम्पका घरेलु दर्शकले उनीप्रति उच्च सम्मान व्यक्त गर्दै ‘गड सेभ द किंग’ लेखिएको ब्यानर फराएका थिए। भने खेल सकिएपछि चेल्सीका म्यानेजर एन्टोनियो कोन्टे मेसीलाई बधाई दिन मैदानमै पुगेका थिए।

बार्साले युरोपभर पछिल्लो ८ खेलमा ६ खेलमा जित हात पारेको छ।
गएराति नै भएको अर्को खेलमा वार्यन म्युनिखले बेसिक्तासलाई ३–१ ले हराउँदै क्याटरफाइनलमा आफ्नो स्थान सुरुक्षित गरेको छ। पहिलो लेगको खेल ५–० को फराकिलो अन्तरले जितेको वार्यनले समग्रमा ८–१ को जित निकालेको हो।
बार्सा र वार्यनको जितसँगै च्याम्पियन्स लिगको अन्तिम ८ को समिकरण पुरा भएको छ। यी दुई बाहेक जुभेन्टस, लिभरपुल, म्यान्चेस्टर सिटी, रियल मड्रिड, रोमा तथा सेभिल्लाले सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन्।
सेमिफाइनल खेल तालिकाको ड्र भने शुक्रबार स्विजरल्यान्डको न्योनमा हुनेछ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।