काठमाडौं- बेलायतमा बिहीबार आम निर्वाचन सुरु भएको छ। पाँच वर्षभन्दा कम समयमा बेलायतमा हुन लागेको यो तेस्रो आम निर्वाचन हो।
नेपाली समय अनुसार दिउँसो साढे १२ बजेबाट निर्वाचन सुरु भएको छ, जुन साँझ १० बजेसम्म चल्नेछ।
कूल ६५० निर्वाचन क्षेत्रमा हुने निर्वाचनको मतदान सकिए लगत्तै मतगणना सुरु हुनेछ। शुक्रबार बिहानसम्म अधिकांश क्षेत्रबाट परिणाम प्राप्त हुने अपेक्षा गरिएको छ।
सामान्यतया प्रत्येक चारदेखि पाँच वर्षमा आम निर्वाचन हुने बेलायतमा यसअघि सन् २०१५ र २०१७ मा पनि निर्वाचन भएको थियो।
सन् २०१६ मा जनमत संग्रह गराएर युरोपेली संघबाट बाहिरिने निर्णय गरेको बेलायत राजनीतिक संक्रमणमा फसेको छ।
सन् २०१६ को जनमत संग्रहमा ५१.९ प्रतिदश बेलायतीले युरोपेली संघबाट बाहिरिने पक्षमा मत हालेका थिए।
युरोपेली संघसँग सम्झौता गरेर बाहिरिने या नबाहिरिने भन्ने विवादले बेलायतमा राजनीतिक संक्रमण झन गहिरिएको छ ।
निर्वातमान प्रधानमन्त्री बोरिस जनसनको सम्झौताबिनै बाहिरिने प्रस्तावलाई संसदले अनुमादन नगरेपछि गत अक्टोबरमा उनले तत्काल अर्को आम चुनावको प्रस्ताव लगेका थिए।
जनसनको यो प्रस्तावलाई भने बहुमत सांसदले अनुमोदन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।