बुटवल- प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत ८ मा निकै तामझामका साथ बुटवल–नारायणगढ सडक खण्डको शिलान्यास गरे। ‘फास्ट ट्रयाक’ मा काम गरिने भन्दै सडक शिलान्यास गरेको ९ महिना बितिसक्दा पनि सडक निर्माणले कुनै गति लिएको छैन।
मध्य नेपालको बुटवल–नारायणगढ सडक खण्डलाई बिस्तार गरी चार लेन र ६ लेनको बनाउने योजना थियो। ‘एक्सप्रेस हाइवे’ को रूपमा विकास गर्ने बताइएको सडक ९ महिना बित्दा पनि काम सुरु नहुँदा यो आयोजना समयमै सम्पन्न हुनेमा शंका उत्पन्न भएको छ।
निकै तामझामका साथ सडक शिलान्यास हुँदा उत्साहित भएका यस क्षेत्रका उद्योगी, व्यवसायी तथा सर्वसाधारण लामो समयसम्म काम नभएपछि भने निरास भएका छन्।
१ सय १४ किलोमिटर सडक साढे तीन वर्षमा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। ९ महिनामा सडक निर्माणका लागि आवश्यक पर्ने सामग्री तथा उपकरण बल्ल ल्याइँदैछ। ती भारत, पाकिस्तानलगायतका देशबाट ल्याईनुपर्ने भएकाले समय लागेको आयोजनाले बताएको छ।
सडक विभाग आयोजना निर्देशनालयका उपआयोजना निर्देशक सागर पौडेलले सडक निर्माणपूर्व गरिनु पर्ने तयारीका कारण बिस्तारमा ढिलाइ भएको बताए। उनले तयारी पूरा भएकाले आगामी एक महिनाभित्र कामले पूर्ण गति लिने बताए। उनले अहिलेसम्म कन्ट्रयाक्टरको अफिस तयार गर्ने, क्याम्प तयार गर्ने, ल्याब तयार गर्ने, निर्माण सामग्री जम्मा गर्ने तथा क्रसर निर्माण गर्ने काम भएको बताए। सडक बिस्तारका लागि झण्डै २० लाख घन मिटर निर्माण सामग्री आवश्यक पर्ने आयोजनाको भनाइ छ। अहिले खाली सडकको छेउछाउमा माटो फिलिङको काम सुरु भएको छ।
‘हामी अन्य कामहरूको प्रक्रियामा छौं’, पौडेलले भने, ‘ठूला आयोजनाहरू शिलान्यास भएको भोलिपल्टैबाट डोजरले खन्न सुरू गर्न सकिँदैन।’ सडक निर्माणका लागि आवश्यक प्रक्रियालगायतका काम सकिएकाले एक महिनापछि कामले तीव्रता लिने आयोजना निर्देशक पौडेलले उल्लेख गरे।
उनले थपे, ‘रूख कटानका लागि वन मन्त्रालयमा प्रक्रिया पुरा गर्न केही समय लाग्यो, त्यसले गर्दा पनि सडक विस्तारका लागि हामीलाई समय लागेको हो। सडक छेउमा रहेका रुख कटानका लागि हामीले स्वीकृति पाएका छौ । अब कामले गति लिन्छ।’
त्यस्तै सडकको दायाँबायाँ रहेका विद्युतीय पोल हटाउनका लागि विद्युत प्राधिकरणसँग छलफल भइरहेको आयोजनाले जनाएको छ। विद्युतका पोल ठेकेदार आफैले सार्ने कि प्राधिकरणले नै सार्ने विषयमा अझै टुङगो लागिनसकेको निर्देशक पौडेलको भनाइ छ।
सडक छेउका विद्युत पोल सार्नका लागि ६० करोड रुपैयाँ लागत लाग्ने बताईएको छ। १ सय १४ किलोमिटर सडक दुई भागमा विभाजन गरी काम गर्ने बताईएको छ। गौंडाकोटदेखि दाउन्ने र दाउन्नेदेखि बुटवलसम्म दुई भागमा विभाजन गरी सडक निर्माण हँुदै छ। एउटै प्याकेजमा काम गर्दा निर्माण कार्य ढिलो हुने भन्दै दुईवटा प्याकेज बनाएर काम गर्न लागिएको आयोजनाले बताएको छ।
पूर्वतर्फको कार्यालय नवलपुर जिल्लाको रजहरमा छ भने पश्चिमको कार्यालय पश्चिम नवलपरासीको भूमहीमा छ। यो सडक गण्डकी र प्रदेश ५ को मुख्य राजमार्गमा पर्ने महत्वपूर्ण सडक हो।
रूख गणना गर्न नै लाग्यो साढे चार महिना
यो सडक विस्तार गर्ने क्षेत्रमा बस्ती र घना जंगल पनि छ। सडक विस्तार गर्दा काटनुपर्ने रूख गणना गर्न नै आयोजनाले साढे चार महिना लगाएको छ । गत बैशाखबाट रुख गणना थालिएको थियो।
आयोजना निर्देशक पौडेलले सडक विस्तार गर्ने क्षेत्रका रूखहरू गणना गर्न नैं आफूहरूलाई झण्डै साढे चार महिना खर्चिनुपरेको बताए।
निर्देशक पौडेलले भने, ‘हामीले रूख गणना गरेर सकेका छौं। त्यस क्षेत्रमा रहेका झण्डै ४२ हजार रूख कटान गर्नुपर्ने अवस्थामा छन्। उनले रुख कटानको काम केही दिनमै सुरु हुने बताए। रूख कटानको काम सकिएपछि विद्युतका पोल हटाउँदै सडक बिस्तार गर्ने आयोजनाको भनाइ छ।
२०१८ सालमा राजा महेन्द्रले बुटवल–नारायणगढ सडक खण्डको शिलान्यास गरेर निर्माण गरिएको थियो। सडक निर्माण भएको ५७ वर्षपछि बस्तीमा चार लेन र जंगलमा छ लेनमा सडक विस्तार गर्न सुरू गरिएको हो। यो सडक २८ किलोमिटर ६ लेनको बन्नेछ भने बाँकी चार लेनको बन्ने छ।
अहिले यो सडक दुई लेनको छ । यो सडक महेन्द्र राजमार्गको एक हजार २७ किलोमिटर सडक खण्डमध्येमा पर्छ। एसियाली विकास बैंक (एडिबि) को ऋण सहयोगमा बिस्तार हुन लागेको यो सडकको ठेक्का चाइना स्टेट कन्ट्रक्सनले पाएको छ।
पहिलो प्याकेज नारायणगढ–दाउन्ने ६५ किलोमिटर र दोस्रो प्याकेज दाउन्ने–बुटवल ४९ किलोमिटर छ। सरकारले पूर्व– पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने बताएको छ। बढ्दो सवारी साधनको चापसँगै यो सडक साँघुरो भएपछि सडकलाई आवश्यकताअनुसार बिस्तार गर्न थालिएको हो।
१५ अर्ब रूपैयाँ लागत
सडक आयोजनाको कूल लागत १५ अर्ब रूपैयाँ छ। जसमध्ये एडिबीले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउनेछ । बाँकी थप रकम नेपाल सरकारकै हुनेछ। एडिबीले नेपाल सरकारलाई १ दशमलब ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको आयोजनाको भनाइ छ। निर्माण सम्पन्न भएपछि पनि चार वर्षसम्म यो सडकको मर्मत सम्भारको काम चाइना स्टेट कन्ट्रक्सनले नैं गर्नुपर्ने सम्झौतामा उल्लेख छ।
समयमै सम्पन्न हुनेमा आशंका
यो सडक पनि देशका अन्य महत्वपूर्ण आयोजनाहरू निर्माणमा भएको ढिलाइजस्तै समयमा सम्पन्न नहुने देखिएको छ। शिलान्यास भएको मितिले साढे तीन वर्षमा सम्पन्न गर्ने सम्झौता भए पनि ९ महिना बित्दासम्म सडक निर्माणको भौतिक प्रगति न्युन भएपछि समयमै निर्माण पुरा हुनेमा आशंका बढेको हो।
२०८० साउन २२ गतेसम्म निर्माण सकिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । आयोजनाको ठेक्का गत वर्ष पुस ४ गते भएको थियो।
दाउन्नेमा तीन लेन
यो सडक नवलपरासीको दाउन्नेको पहाडमा तीन लेनको हुनेछ। बर्दघाटको प्रतिक्षालयदेखि दुम्कीबाससम्म १४ किलोमिटरको सडक अप्ठेरो ठाउँ भएकाले त्यहाँ ३ लेनको हुने पौडेलले बताए। पहाड चढ्ने गाडीले दुई लेन प्रयोग गर्नेछन् भने झर्ने गाडीले एक लेन प्रयोग गरेर झर्नेछन् । उक्त चार लेन बनाउँदा लागत पनि बढी लाग्ने र बनाउन पनि जोखिम भएकाले तीन लेनको बनाइने आयोजनाको भनाइ छ।
पौडेलले भने, ‘दाउन्नेमा भौगोलिक र प्राकृतिक अवस्थाले त्यसलाई चार लेन बनाउन सम्भव देखिएन त्यसैले त्यहाँको प्राकृतिक सम्वेदनशीलतालाई ध्यानमा राखेर तीन लेनमात्रै बनाउन लागिएको हो।’ चार लेन सडकलाई २÷२ लेनको बीचको भाग विरूवा रोपेर हरियाली बनाइने छ ।
२१ वटा पुल पनि बन्ने
यो सडक खण्डमा बिस्तारसँगै २१ वटा नयाँ पुल पनि बन्ने भएका छन् । अहिले जहाँ–जहाँ पुल छन्। तिनीहरूको दायाँबायाँ गरी २१ वटा साना–ठूला पुल पनि बनाउनुपर्ने छ।
मुआब्जाको समस्या कम
अन्य सडक विस्तार गर्दा वा निर्माण गर्दा मुआब्जा वितरणको समस्याले गर्दा सडक निर्माणमा अवरोध हुँदै आएको छ। तर यो सडक खण्डमा मुआब्जाको समस्या नहुने बताइएको छ। नवलपुरको विनय त्रिवेणी गाउँपालिका दुम्कीबास क्षेत्रको केही भागमा मात्र मुआब्जाका वितरण गर्नुपर्ने बाहेक अन्यत्र समस्या नहुने आयोजनाको भनाइ छ ।
कहिले बनेको थियो महेन्द्र राजमार्ग ?
नेपालका पूर्व राजा महेन्द्र वीरविक्रम शाहले २०१८ सालमा नवलपरासीको गैँडाकोटमा ‘महेन्द्र राजमार्ग’ शिलान्यास गरेका थिए। ४ वर्षमा निर्माण सम्पन्न भएपछि २०२२ सालमा नवलपरासीको गैंडाकोटमै राजा महेन्द्रले ‘महेन्द्र राजमार्ग’ को उद्घाटन गरेका थिए । महेन्द्र राजमार्ग बन्नुअगाडि नेपालमा राज्यका न्यूनतम पूर्वाधारसमेत थिएनन् । राजनीतिक, आर्थिक, प्रशासनिक सबै ढंगबाट नेपाल भारतमा निर्भर थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।