इटहरी- बलात्कार आरोपमा पक्राउ परेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले अस्पतालमै चटक देखाइरहेका छन्। सिकिस्त बिरामी भएर विराट मेडिकल कलेजको आइसीयुमा भर्ना भएका उनी तन्दुरुस्त देखिन्छन्। विभिन्न मिडियामा अन्तर्वार्ता दिनदेखि आफ्ना अनुसायीसँग घण्टौं गफिन्छन्। तर अदालत जानुपर्ने बेला र प्रहरीसँग बयान दिने बेलामा भने सिकिस्त हुन्छन्।
पहिलो पटक ४ दिनको म्याद दिएको सुनसरी जिल्ला अदालतले पुन अनुसन्धानका लागि ७ दिनको म्याद थप गरेको छ। म्याद थप गरिए पनि सिद्धबाबाको पूर्ण बयानमा प्रहरीलाई चारदिन समय लाग्यो। बयानसहित अनुसन्धानको प्रतिवेदन जतिसक्दो छिटो दिनु पर्ने भए पनि अस्पतालमा बिरामी भएर सिकिस्त देखिएपछि बुधबारमात्र बयान सकिएको सुनसरी प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माका अनुसार बुधबार बयान सकिएको र पुनः शुक्रबार म्याद थपका लागि अदालत लैजाने प्रहरीको योजना छ।
गिरी हिरासतलाई छलेर अस्पतालको सुविधासम्पन्न कोठामा बस्दै आएका छन्। पक्राउ पर्ने छनक पाएदेखि नै अस्पतालमा बिरामी भन्दै बसेका गिरिलाई प्रहरीले आफै हिरासतमा राखेर अनुसन्धान गर्न पाएको समेत छैन।
प्रहरी हिरासत छल्ने मात्र हैन अस्पतालमा पनि प्रहरीलाई उपचारको नाममा झुलाएर बयान दिएका छैनन्। खास के बिरामी भनेर यकीन हुन नसके पनि अस्पताल प्रशासनकै सहयोगमा उनी सुविधासम्पन्न कक्षमा छन्। गिरीको बयान गर्नेदेखि अदालत लैजाने विषयमा पनि अस्पताल प्रशासनले प्रहरीलाई रोक्न खोजिरहेको छ।
२५ दिनसम्म अनुसन्धानको समय रहेको प्रहरीले अदालतबाट ११ दिनसम्मको म्याद थप गरिसकेको छ। प्रहरीले अदालतबाट पहिलोपटक अनुसन्धानका लागि चारदिन र दोस्रोपटक सात दिनको म्याद थप गरेको थियो।
अनुसन्धानको जिम्मा लिएका डिएसपी शर्माले गिरीको बयान लिन धेरै सकस भएको बताए। अस्पताल परिसरमा प्रहरीलाई मोबाईललगायतका उपकरण लिएर जान चिकित्सकले रोक्ने गरेका छन्।
अभियुक्त गिरीको स्वाब, रगत लगायतका परीक्षणको रिपोर्ट आएपछि यसपटक नै मुद्दा अदालतमा बुझाउने गरी तयारी रहेको शर्माको भनाइ छ।
अस्पतालको अन्य समयमा भने उनी आफ्ना साधक, नजिकका मानिससँग दिनभर कुराकानी गर्दै बस्ने गरेका छन्। मंसिर १२ गतेदेखि विराट नर्सिङ होममा बसेका गिरी अझैसम्म अस्पतालमै छन्। विभिन्न मिडियासँगको अन्तर्वार्तामा उनले आफूलाई फसाउन खोजिएको बताउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।