बुटवल- नेपाल पुलिस क्लब बुटवलमा जारी २० औं तिलोत्तमा गोल्डकपमा फाइनलमा प्रवेश गरेको छ।
बुटवलको देवीनगरस्थित एन्फा एकेडेमीको खेल मैदानमा बुधबार भएको सेमफाइनलमा आयोजक रुपन्देही ११ लाई पेनाल्टी सुटआउटमा ४–३ गोलले स्तब्ध पार्दै पुलिसले फाइनलमा पुगेको हो।
निर्धारित समयमा गोलरहित बराबरी सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुग्यो। पेनाल्टी सुटआउटमा पुलिसका सुमन लामा, निरकुमार राई, भोला सिलवालले गोल गरे। दिनेश राजबंशी र अजित भण्डारीको प्रहारलाई रुपन्देहीका गोलरक्षक सोजित गुरुङले असफल पारे।
रुपन्देही ११ का मनिष घले, चिनिङ गुरुङ, निशान लिम्बुले गोल गर्दा अशोक थापा र विश्व अधिकारीको प्रहारलाई पुलिसका गोलकिपर रोशन खड्काले असफल बनाए।
पहिलो ५–५ पेनाल्टीमा दुवै तर्फबाट ३–३ गोद्य भएपछि थप १–१ पेनाल्टीबाट खेलको निर्णय लिइएको थियो। जहाँरुपन्देही ११ का कर्ण लिम्बुको प्रहारलाई पनि पुलिसका गोलकिपर खड्काले असफल बनाउँद पुलिसका रिजन सुब्बाले गरेको प्रहारले जाली चुमेको थियो। पुलिसका गोलरक्षक रोशन खड्का म्यान अफ द म्याच घोषित हुँदै ११ हजार रुपैंयाँ नगद पुरस्कार प्राप्त गरे।
त्यसअघि घरेलु मैदानमा भएको खेलमा दर्शकको माया पाएको आयोजक रुपन्देही ११ का खेलाडीले १०, ३७, ६६ र ७१ मिनेटमा प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा दर्शक निराश भएका थिए।
बिहीबार दोस्रो सेमिफाइनल खेल मनाङ मर्स्याङदी क्लब र थ्रीस्टार क्लबबीच हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।