काठमाडौं- दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) टी २० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।
पोखरामा फ्रेन्चाइज टी २० क्रिकेट लिग भित्र्याएर पहिलो सिजन सफल रुपमा आयोजना गरेको क्विन्स इभेन्ट म्यानेजमेन्टले दोस्रो सिजनमा पनि ६ सहरका ६ फेन्चाइज टिको सहभागिता रहने जनाएको छ। प्रतियोगिता मंसिर २८ गतेदेखि पुस १२ गतेसम्म सञ्चालन हुनेछ।
जसमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल बाल्स्टर, चितवन राइनोज, काठमाडौं गोल्डेन र धनगढी ब्लुज रहेका छन्।
सिंगल राउण्ड रोबिनको आधारमा लिग सञ्चालन गरेर शीर्ष स्थानमा रहने टिम फाइनल पुग्नेछ। यस्तै फाइनल खेल्ने अर्को टिमका लागि अंक तालिकामा दोस्रो र तेस्रो स्थानमा रहने टिमले इलिमिनेटर खेल खेल्ने छन्।
उद्घाटन खेलमा गएको पहिलो सिजनको उपाधि विजेता पोखरा पल्टन र काठमाडौं गोल्डेनबीच खेल हुनेछ। सबै खेल पोखरा रंगशालामा नै सञ्चालन हुनेछ।
क्विन्स इभेन्टका कार्यकारी निर्देशक छुम्बी लामाले नेपालमा पर्यटन विकासका लागि पनि पोखरामा गरिएको क्रिकेट प्रतियोगिताले सहयोग गर्ने विश्वास लिएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।