राजविराज– खेलकुद विकास समिति स्थापनाको ५६ वर्षपछि सप्तरीमा कभर्ड हल निर्माण भएको छ।
राष्ट्रिय प्रतियोगितामा सहभागी भएका पूर्व खेलाडीहरुको पहलमा चन्दा तथा सहयोग संकलन गरेर कभर्ड हल निर्माण गरिएको हो। राजविराज नगरपालिकाको वडा नं. ८ मा रहेको १४ धुर जग्गामा ७० फिट लम्बाई, ५० फिट चौडाइ र ३५ फिट उचाइको कभर्ड हल निर्माण गरिएको छ।
करिब ५० लाख रुपैयाँको लागतमा निर्मित हलको निर्माण कार्य अन्तिम चरणमा रहेको निर्माण समितिका संयोजक सचेन्द्रप्रसाद यादवले बताए।
ब्याटमिन्टन, भारत्तोलन, जुडो, कम्फु लगायतका प्रतियोगिता सञ्चालनका लागि हलको अभाव खड्किएको र त्यसका लागि पटक–पटक पहल गर्दा पनि सरकारी निकायले बेवास्ता गरेपछि चन्दा र सहयोग मार्फत निर्माण थालिएको उनले बताए।

‘खेलकुद विकास समितिको हल अत्यन्तै सानो छ,’ उनले भने, ‘औपचारिक कार्यक्रम बाहेक खेलकुद प्रतियोगिता सञ्चालन गर्न नमिल्ने भएपछि विकल्प खोजिएको हो।’
राजविराजस्थित हिमालय क्लबको गत वैसाखमा सम्पन्न बैठकले कभर्ड हल निर्माणको प्रस्ताव पास गरेको थियो। सोही बैठकमा आपसमै ७ लाख रुपैयाँ संकलन गरी काम सुरु गरिएको थियो।
जसमा अध्यक्ष अरुणकुमार प्रधान तथा खेलाडीहरु सचेन्द्र यादव, शंकर दास, महेश लुइँटेल लगायतले १–१ लाख रुपैयाँ सहयोग उपलब्ध गराएका थिए।
काम सुरु गरेपछि अन्य खेलाडी, समाजसेवी तथा विभिन्न उद्योगले पनि रकम सहयोग गर्नाले यति ठूलो लागतमा हल निर्माण सम्भव भएको संयोजक यादव बताउँछन्। ‘अधिकांश काम हामी आफैंले सम्पन्न गरेका छौं,’ उनले भने, ‘अन्तिम चरणमा रकम अभाव होलाजस्तो देखिएको छ।’

सामान किनेको तिर्न बाँकी १० लाख र फिनिसिङका लागि १० लाख गरी करिब २० लाख रुपैयाँ अपुग भएकाले विभिन्न निकायमा सहयोगका लागि आग्रह गरिएको पनि उनले बताए। यादवका अनुसार पूर्व सांसदहरु उमेशकुमार यादव, सकलदेव सुतिहार र लक्ष्मी चौधरीले कभर्ड हल बनाउन संसदीय विकास कोषबाट रकम सहयोग गर्ने प्रतिबद्धता जनाए पनि सर्वोच्च अदालतको निर्णयले उक्त रकम रोकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।