काठमाडौं– दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले मान्यता दिएको छ। धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले आइसिसीले डिपिएललाई मान्यता दिएको विज्ञप्तिमार्फत जनाएका हुन्।
आइसीसीका सिनियर क्रिकेट अपरेशन म्यानेजर क्लिभ हिट्चकोकले पत्र पठाउँदै आइसीसीले आफ्ना सम्पूर्ण सदस्य राष्ट्रहरुलाई डिपिएललाई आइसीसीको मान्यता रहेको जानकारी गराइसकेको उल्लेख गरिएको छ।
आइसीसीको मान्यतासँगै प्रतियोगितामा सहभागी टोलीले कुनैपनि उच्चस्तरका विदेशी खेलाडीलाई टोलीसँग अनुबन्ध गर्न सहज भएको छ।
आगामी चैत १७ देखि बैशाख १ गतेसम्म चल्ने प्रतियोगितामा महेन्द्रनगर युनाइटेड, टिम चौराह धनगढी, सीवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहने छ।
प्रत्येक टिमले १३–१३ खेलाडी अक्सनमार्फत आफ्नो टिममा भित्राएका छन्।
विभिन्न ६ शहरका ६ फ्रेन्चाइज टिमले ११ जना खेलाडी अक्सनबाट, १ रणनीतिक खेलाडी, दुई विदेशी तथा एक जना ट्यालेन्ट हन्टबाट खेलाडी लिनुपर्ने व्यवस्था छ। अब विदेशी बाहेक अन्य खेलाडी टिममा आवद्ध भएका छन्।
रणनीतिक खेलाडी भने यसअघि नै घोषणा भइसकेको छ। महेन्द्रनगरको रणनीतिक खेलाडी विनोद भण्डारी छन्। त्यस्तै, चौराहाका सोमपाल कामी, अत्तरियाका दीपेन्द्रसिंह एरी, रुपन्देहीका शक्ति गौचन, काठमाडौंका ज्ञानेन्द्र मल्ल र विराटनगरका पारस खड्का छन्।
उक्त प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख रुपैयाँ पाउनेछ। यस्तै, प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले तीन लाख र चौथो हुनेले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।