बाबियाचौर, म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिका–६, पाखापानीमा रहेको अमर माविमा कक्षाकोठा अभावका कारण विद्यार्थीलाई भर्याङमुनि राखेर पढाउने गरिएको छ। विद्यालयको पुरानो आठकोठे भवन जीर्ण बनेपछि भत्काएर नयाँ छकोठे पक्की भवन बनाइए पनि कार्यालय र पठनपाठन सञ्चालनका लागि दुई कोठाको अभाव भएको हो। कोठा अभावका कारण कक्षा ४ का विद्यार्थीलाई नयाँ भवनको पहिलो तलाको भर्याङमुनि राखेर पठाउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक युकुमार गर्बुजाले बताए।
उक्त कक्षामा २० जना विद्यार्थी छन्। भर्याङमुनि बसेर पढ्दा चिसोमा जाडो हुने, गर्मीमा घामले पोल्ने र पानी पर्दा बाछिटाले रुझाएर असजिलो हुने गरेको विद्यार्थीले गुनासो गरेका छन्। प्रअ गर्बुजाका अनुसार स्रोतकेन्द्रको कार्यालयलाई विद्यालयको प्रशासनिक र शिक्षक कर्मचारीको कक्षका रुपमा प्रयोग गरिएको छ।
उक्त विद्यालयमा हालै जिल्ला शिक्षा कार्यालयको रु ४८ लाख र विद्यालयको २२ लाख रुपैयाँको लागतमा ६ कोठे पक्की भवन निर्माण सम्पन्न भएको थियो। २०७२ सालको भूकम्पका कारण पुरानो ८ कोठे भवन जीर्ण बनेपछि पुनःनिर्माण गरिएको हो।
उक्त विद्यालयमा रहेका २/२ कोठे २ वटा ब्लक भवनमध्ये एउटामा छात्रावास र अर्कोमा कार्यालय तथा स्टोर सञ्चालन गरिएको छ। पुरानो ४ कोठे र नयाँ ६ कोठे भवनमा बालकक्षादेखि कक्षा १० सम्मका विद्यार्थीका लागि ११ वटा कोठा आवश्यक रहेको छ।
नयाँ भवनका २ कोठा कम्प्युटर ल्याब र पुस्तकालयका लागि प्रयोग भएको छ। नयाँ भवनमा तला र चारवटा कोठा थप गर्न पहल गरिएको प्रअ गर्बुजाले बताए। विद्यालयमा २९३ जना विद्यार्थी अध्ययनरत छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।