म्यान्चेस्टर– इंग्लिस टिम म्यानचेस्टर युनाइटेड( म्यान्यु) च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ। अन्तिम १६ अन्तर्गत स्पेनिस टिम सेभिल्लासमँको दोस्रो लेगको खेलमा म्यान्यु २–१ ले पराजित भएसँगै प्रतियोगिताबाटै बाहिरिएको हो।
आफ्नै घरेलु मैदान ओल्ड ट्राफडमा म्यान्युले पाहुना टोलीका सब्स्टिच्युट खेलाडी विसाम बेन याडरलाई रोक्न नसक्दा हार बेहोर्न बाध्य भएको हो। पहिलो लेगको खेल गोलरहित बराबरीमा टुंगिएकोले दुबै टिमका लागि सो खेल महत्वपूर्ण मानिएको थियो।

खेलको ७४ मिनेटसम्म कुनै पनि टिमबाट गोल कुन सकेको थिएन। तर त्यसपछि १० मिनेटको अन्तरमा ३ गोल सम्भव भएको थियो। सेभिल्लाका याडरले ७४ र ७८ मिनेटमा गोल गर्दै टोलीलाई अन्तिम आठमा पुर्याए।
खेल सकिन ६ मिनेट बाँकि रहँदा म्यान्युका रोमियो लुकाकुले एक गोल गरे पनि सो जितका लागि पर्याप्त भएन। जारी सिजनका पछिल्ला ९ खेलमा लालिगा टिमले इंग्लिस क्लबलाई पराजित गरेको यो पहिलो अवसर हो।

क्वाटरफाइनल प्रवेशकै लागि भएको अन्तिम १६ को दोस्रो लेगको अर्को खेलमा रोमा विजयी भएको छ। उसले साख्तर डोनेस्कलाई १–० ले पराजित गरेको हो। उसका लागि एक मात्र निर्णायक गोल एडिन डेजेकोले गरे। च्याम्पियन्स लिगको जारी सिजनमा उनको यो चौथोँ गोल हो।
समग्रमा २–२ गोल भएपनि रोमा अवे गोलका आधारमा अन्तिम आठमा प्रवेश गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।