पोखरा- आइएमई नेपाल साहित्य महोत्सवको आठौं संस्करण पोखराको लेकसाइडस्थित बाराहीघाटमा हुने भएको छ।
महोत्सब मंसिर २७ देखि ३० गतेसम्म हुने आयोजक संस्था बुकवर्म फाउन्डेसन र र्यान्डम रिडर्स सोसाइटीले पत्रकार सम्मेलनमार्फत् जानकारी दियो।
महोत्सवमा अघिल्ला संस्करणझैं यस वर्ष पनि देशविदेशका १ सय १० भन्दा बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार, सम्पादक, सेलिब्रेटी एवम् विशिष्ट व्यक्तित्वको उपस्थिति रहनेछ। ३५ भन्दा बढी सेसन र थप रोचक सामग्री प्रदान गरिने आयोजकको दाबी छ।
यस वर्ष महोत्सवमा दक्षिण एसियाली साहित्यकै सर्वोत्कृष्ट एवम् गरिमामय डिएससी पुरस्कार प्रदान गर्न लागिएको छ। २५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार रुपैयाँ) राशि बराबरको उक्त पुरस्कार दक्षिण एसियाली समाजको गुणस्तर अभिवृद्धिमा क्रियाशील दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले विगत आठ वर्षदेखि प्रदान गर्दै आएको हो।
महोत्सवको उद्घाटन सत्रमा पूर्वअर्थमन्त्री एवं नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डेको विद्वत्प्रवचन रहनेछ।
नेपाल साहित्य महोत्सवसँगको सहकार्यलाई लिएर डिएससी दक्षिण एसियाली साहित्यिक पुरस्कारकी सहसंस्थापक सुरिना नरुला भन्छिन्, ‘हामी आइएमई नेपाल साहित्य महोत्सवसँग सहकार्य गर्न पाउँदा उत्साहित छौं। सुन्दर सहर पोखरामा सम्पन्न हुने आइएमई नेपाल साहित्य महोत्सव २०१९ मा हामी यसपटक डिएससी पुरस्कारको विजेता घोषणा गर्दैछौं। पुरस्कार र महोत्सव दुवैले दक्षिण एसियाली साहित्यलाई प्रर्वद्धन गर्ने हुँदा यो सहकार्यले हामी दुवैलाई फाइदा हुने विश्वास लिएका छौं। दक्षिण एसियाली साहित्यलाई विश्वसामु साक्षात्कार गराउनु हाम्रो प्रमुख उद्देश्य हो । विगत आठ वर्षदेखि दक्षिण एसियाली लेखनलाई निरन्तर प्रवद्र्धन गर्दै आएको डिएससी पुरस्कार प्रत्येक वर्ष फरकफरक दक्षिण एसियाली देशहरूमा वितरण हुने रोलक्रमअनुसार यस वर्ष नेपाल साहित्य महोत्सवमा घोषणा गर्न लागिएको हो।’
आइएमई नेपाल साहित्य महोत्सवका निर्देशक अजित बरालले प्रत्येक वर्ष साहित्य महोत्सव आयोजना गर्न आफूहरूलाई गर्व महशुस हुने बताए।
महोत्सवमा यस वर्ष युवा र नवोदित, नसुनिएका र मुलधारमा नआएकाहरूको आवाज समेट्न खोजिएको महोत्सवका संयोजकहरु मध्ये एक शिवानी सिंह थारुले बताइन्।
नेपालकै सबैभन्दा ठूलो र एकमात्र अन्तर्राष्ट्रिय साहित्य महोत्सव पोखरामा आयोजन गर्न पाउँदा गौरवान्वित भएको र्यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।