काभ्रेपलाञ्चोक- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब स्नातकोत्तर तहमा नाप, नक्सासम्बन्धी प्रविधिको पढाइ सञ्चालन गरिने जानकारी दिएकी छन्।
भूमि प्रशिक्षण केन्द्रले ‘नापनक्सासम्बन्धी आधुनिक एवं भूमि व्यवस्थापनको क्षेत्रमा क्षमता विकास र शैक्षिक प्रवर्द्धन’ विषयमा मंगलबार काभ्रेपलाञ्चोकको धुलिखेलमा भएको कार्यक्रममा मन्त्री अर्यालले नाप नक्सासम्बन्धी विषयमा स्नातकोत्तर तहको पढाइ पाठ्यक्रममा समावेश गरिने बताइन्।
अन्तर्राष्ट्रिय सहकार्य र पाठ्यक्रम विकासको विषयको अझ बढी चासोको विषय हुने भन्दै उनले पाठ्यक्रम विकासका लागि अन्तर्राष्ट्रिय प्रयोगलाई ध्यान दिने बताइन्।
त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरियङ अध्यनन संस्थानअन्तर्गत पश्चिमाञ्चल क्याम्पस पोखरामा सञ्चालन हुन लागेको नापनक्सा क्षेत्रको स्नातकोत्तर तहको पाठ्यक्रममाथि विज्ञको सुझाव संकलन गर्न कार्यशाला आयोजना गरिएको बताइएको छ। केन्द्रले विश्वविद्यालयहरूसँगको सहकार्यलाई निरन्तरता दिने मन्त्री अर्यालको विश्वास छ।
भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेलले आयोजना गरेको गोष्ठीमा नेपाल, भारत, चीन, टर्की, यूक्रेन, चेक रिपब्लिक, रसिया, अष्ट्रेलिया, नेदरल्याण्ड, बेल्जियम, अफगानिस्तान, मंगोलिया लगायतका १३ देशका सहभागी भएको केन्द्रका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टले जानकारी दिए । दुई दिनसम्म चल्ने गोष्ठीमा १५० बढी सहभागी छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।