राजविराज– ०७४ को निर्वाचनअघि चुनावी घोषणा पत्र जारी गर्ने क्रममा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले मधेश आन्दोलनमा शहादत दिने हरेकलाई ५० लाख दिने घोषणा ग¥यो। यो कुरा लिखित रुपमा त आएन, तर नेता राजेन्द्र महतोले २ नम्बर प्रदेशमा राजपा–फोरमको गठबन्धन सरकार बन्ने र सहिद परिवारलाई ५०–५० लाख दिने घोषणा गरे। यो निर्णय निकै आलोचित पनि भयो।
आश्वासन यतिमा मात्र सीमित भएन, प्रादेशिक सरकारअन्तर्गत आउने सरकारी जागिर उपलब्ध गराउने, सहिद परिवारका बच्चालाई निःशुल्क अध्ययनको व्यवस्था गरिने, सहिद परिवारलाई स्वरोजगारका लागि छुट्टै आर्थिक सहायता उपलब्ध गराउने लगायतका आकर्षक नारा बाँडियो।
अन्ततः चुनावी नतिजा महतोले भनेजस्तै गठबन्धनकै पक्षमा आयो पनि। र, प्रदेश २ मा राजपा– समाजवादी गठबन्धनकै सरकार छ । तर, उनीहरुले गरेको वाचा भने अझै पुरा भएको छैन । सहिद र घाईते परिवारलाई राहतस्वरुप उपलब्ध गराईएका सुविधासमेत निरर्थक सावित भईरहेका छन् । त्यसमा सहिद र घाईते परिवारकै गुनासो छ।
तेश्रो मधेश आन्दोलनमा ज्यान गुमाएका राजविराज–९, मलेठ निवासी पिताम्बर मण्डलका परिवारलाई चार महिनाअघि प्रदेश सरकारले लैंनो भैंसी दियो। प्रहरीको गोली लागेर मारिएका तथा घाइते भएका परिवारलाई प्रदेश २ सरकारले आयश्रोतका लागि उन्नत जातका भैँसी प्रदान गर्ने कार्यक्रमअन्तर्गत मण्डलकी पत्नि सोमनीदेवीले पनि भैँसी लिईन्। तर, उनका लागि भैँसी घाँडो बन्यो। अहिले गाउँकै गंगा यादवलाई पोसिया (अधियाँ) मा पाल्न दिएकी छिन्।
राजविराज ७, हटियाकी पुनमदेवीले पनि सहिद परिवारका नाममा पाएको भैँसीलाई राख्न सकिनन्। स–साना बालबच्चाको भरणपोषण र शिक्षकको जागिर थेग्न मुस्किल भईरहेका बेला पाएको भैँसी उनले तत्कालै अन्यत्र व्यवस्थापन गरिन्। तीन वर्षसम्म भैँसी बिक्री गर्न नपाउने व्यवस्थाविपरित उनले तत्कालै भैँसी बिक्री गरिन्।
भैसी पाए पनि त्यसलाई पाल्न सोमनी र पुनमलाई मात्र समस्या परेको होईन। मलेठकै सहिद वीरेन्द्र मेहताकी पत्नि रञ्जना, हनुमाननगर कंकालिनी नगरपालिका १, भारदहका सहिद राजेन्द्रकुमार राउत (राजिव) की पत्नि निलमदेवी पनि भैँसी पाएर सन्तुष्ट हुन सकेका छैनन्। सरकारले निःशुल्क भैँसी तथा गोठ व्यवस्थापनका लागि एकमुष्ट ३० हजार रुपैयाँ दिए पनि उक्त पैसाले गोठ बनाउनसमेत अपुग भएको रञ्जनाले बताईन्। ‘भैँसीले २ लिटरमात्रै दुध दिन्छ, यसले आहारा खुवाउन पनि पुग्दैन’ उनले भनिन्, ‘परिवारमा चार छोराछोरीको हेरचाह, आठ कठ्ठा जग्गाको खेतीमाथि भैँसी स्याहार्ने बोझसमेत थपिएको छ।’
भैसीलाई खुवाउन आठ कठ्ठाको परालले नपुग्ने भएपछि हालसालै ४ हजार रुपैयाँको पराल किनेर राखेकी रञ्जनाले चार÷चार जना बालवच्चाको स्याहारसुसार माथि भैँसीको स्याहार गर्न भ्याई नभ्याई भएको दुःखेसो गरिन् ।
यस्तै, सहिद पिताम्बर मण्डलकी पत्नी सोमनीदेवीले आफूहरुको एक धुर पनि खेत नरहेका कारण भैँसीको आहारा व्यवस्थापन गर्न नसकेर अन्यत्र पाल्न दिएको वाध्यता सुनाईन् । ‘सहयोग दिने नै भए बरु अरु थोक दिए हुन्थ्यो,’ उनले भनिन्, ‘भैँसी दिएर उल्टै कामको बोझ मात्रै थपियो ।’
प्रदेश २ सरकारले २०६२ साल यताका सहिद तथा घाईते परिवारलाई आयश्रोत जुटाउन मद्दत पुर्याउने उद्देश्यले गत असार ८ गते सप्तरीका ३४ सहिद तथा घाइते परिवारलाई पाडापाडीसमेत गरी ६८ वटा भैँसी वितरण गरेको थियो ।
भूमि व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयका तत्कालीन सचिव तेजनारायण झाले भैंँसी वितरण कार्यक्रमअन्तर्गत प्रदेशभरिका ८ वटै जिल्लाका १ सय २२ परिवारलाई दुधालु भैँसी वितरण गर्ने जानकारी दिएका थिए ।
प्रदेश २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मधेश आन्दोलनका सहिद परिवारलाई दुधालु गाई वा भैँसी वितरण कार्यक्रम सञ्चालन कार्यविधि २०७५ बनाएर २०६४ देखि २०७२ सम्म भएको आन्दोलनका सहिद तथा घाइते परिवारलाई भैँसी वितरण गरेको थियो । कार्यक्रम अन्तर्गत १ करोड ३८ लाख रुपैयाँको भैसी वितरण गरेको जनाईएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।