एजेन्सी- न्युजिल्याण्डको ह्वाइट टापुमा ज्वालामुखी विस्फोटन हुँदा पाँच पर्यटकको मृत्यु भएको छ। प्रहरीले त्यस क्षेत्रबाट २३ जनाको उद्दार गरेको छ। त्यहाँ फसेका अन्य पर्यटकको उद्दारमा समस्या आइरहेको प्रहरीले जनाएको छ। उद्दारमा प्रहरीलाई न्युजिल्याण्डको सेनाले सहयोग गरिरहेको छ।
न्युजिल्याण्डको उत्तरी क्षेत्रमा रहेको उक्त टापुलाई ह्वाकारीको नामले समेत चिनिन्छ। यो सक्रिय ज्वालामुखी क्षेत्र पनि हो। पर्यटकहरुका लागि यस क्षेत्रमा विशेष उडान हुने गरेको थियो।
स्थानीय समयअनुसार अपरान्ह २.११ बजे बिस्फोट भएको थियो। ज्वालामुखी क्षेत्रबाट ३० मिनेटअघिमात्र हिडेका एक पर्यटकले आफूहरु डुंगामा रहेका बेला बिस्फोट भएको र त्यसबाट स्तब्ध भएको बताए। लगत्तै डुंगा फर्काएर अन्यको उद्दार गरिएको उनले बताए।
अन्य एक प्रत्यक्षदर्शी ब्राजिलका एलेसन्ड्रो काउफम्यानले ज्वालामुखीको फुट्दै गरेको अनुभव आफूले पहिलोपटक नजिकैबाट गरेको बताए। पोर्चुगिस भाषामा उनले आफ्नो अनुभव इन्स्टाग्राममा पनि शेयर गरेका छन् ।
‘ज्वालामुखी क्षेत्रमा आज दुई टुर हुनेवाला थियो। सबैभन्दा पहिला हाम्रो अनि अर्को समूहको। तर हामी फर्केको पाँच मिनेटपछि उक्त क्षेत्रमा बिस्फोट भयो र केही मानिसहरु आगोमा जले,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
ज्वालामुखी क्षेत्रको प्रत्यक्ष प्रसारणका बेला पनि पर्यटकहरु उक्त क्षेत्रमा रहेको देखिन्थ्यो ।
ज्वालामुखीबारे अग्रिम सूचना थियो?
३ डिसेम्बरमा भूविज्ञानको खतराबारे अनुगमन गर्ने वेबसाइट जिओनेटले एक चेतावनी सूचना जारी गरेको थियो। त्यसमा भनिएको थियो– ज्वालामुखी सामान्यभन्दा बढी सक्रिय हुने अवस्थामा पुगेको छ।’ तर हालको सक्रिय अवस्थाले पर्यटकलाई सिधा खतरा नरहेको पनि जिओनेटले उल्लेख गरेको थियो। तर अकल्याण्ड विश्वविद्यालयका एसोसियएट प्रोफेसर जेन लिण्डसेले चेतावनीको स्तरलाई दोब्बर गरेको उल्लेख गर्दै भने, ‘ज्वालामुखी बिस्फोट हुने आशंका सबैभन्दा धेरै थियो र यसबारे सबै जानकार थिए।’
न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिंडा अर्डर्नले उक्त क्षेत्रमा विदेशी पर्यटकसमेत रहेको बताकी छन्। उक्त क्षेत्रमा धेरै मानिस फसेकोमा आफूलाई दुःख लागेको उल्लेख गर्दै र छिटोभन्दा छिटो उनीहरुको उद्दार गर्न पनि उनले निर्देशन दिएकी छन्। सुरक्षाकर्मीहरुले उद्दार र खोजी कार्य तिव्र पारेको तर ज्वालामुखी फैलिदै गएको कारण समस्या भईरहेको उनले बताइन्।
सेनाको हेलिकप्टर समेत उक्त क्षेत्रमा परिचालन गरिएको छ। प्रहरीले सुरुमा उक्त क्षेत्रमा १०० जना भएको बताएको थियो, त्यसलाई सच्चाउँदै ५० जना रहेको सार्वजनिक गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।