पोखरा- १३औं दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटबलमा नेपाल स्वर्ण पदक जित्नबाट चुकेको छ। अघिल्लो संस्करणमा ४–० को हारसँगै भारतलाई सुम्पेको स्वर्ण पदक यसपटक पनि नेपालले जित्न सकेन।
अघिल्लो १२औं सागको बदलासमेत लिँदै स्वर्ण जित्ने नेपालको अवसर थियो, तर आज पोखरा रंगशालामा भएको खेलमा नेपाल चुक्यो र भारतलाई २–० को नतिजा सुम्पँदै रजत पदक मात्रै जित्न सक्यो।
भारतले१८ औं मिनेटमा गोलको खाता खोलेको थियो। भारतका लागि डाङ्मे ग्रान्सले गोल गर्दै खाता खोलेकी हुन्। भारतले दोश्रो गोल भने खेलको ५५ औं मिनेटमा गरेको थियो। भारतका लागि एनजी बालादेवीले गोल गरेकी हुन्। अनमार्क रहेकी उनले पेनाल्टी एरियाबाट हानेको प्रहारले सिधै जाली चुमेको थियो।
काउन्टर अट्याकको रणनीति अपनाएको भारतले कम मात्रै गोलको अवसर सिर्जना ग¥यो। तर जति अवसर सिर्जना ग¥यो त्यसलाई गोलमा परिणत गर्दा जितका लागि पर्याप्त भयो।
सुरुदेखि नै आक्रामक रणनीति अपनाएको नेपालले पाएका अवसर भने खेर फाल्यो। साबित्रा भण्डारीमा निर्भर नेपालका लागि भारतीय रक्षापंक्ति बाधक बन्यो। साबित्रालाई भारतीय खेलाडीले मार्क गरेर छाड्दै नछाडेपछि उनले खुलेर खेल्न सकेनन्। तैपनि साबित्राले ७, ४८, ४९ औं मिनेटमा गोल गर्ने अवसर पाएकी थिइन्। तर उनले सदूपयोग गर्न सकिनन्।
प्रशिक्षक खड्काद्वारा राजीनामा
नेपाली महिला फुटवल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामाको घोषणा गरेका छन्। फाइनलमा भारतसँग २–० को पराजयसँगै प्रशिक्षक खड्काले राजीनामाको घोषणा गरेका हुन्। उनले हारको सम्पूर्ण जिम्मा लिँदै नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन्।
खड्काले विगत डेढ वर्षदेखि नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षण सम्हाल्दै आएका थिए। खड्काको प्रशिक्षणमा रहेको नेपाली महिला टिमले यस अवधीमा ५ पटक खेलेको र त्यसमा ३ मा हार, एकमा जित र एकमा बराबरी खेलेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।