कोलम्बो– भारत, बंगलादेश र श्रीलंकाबीचको त्रिकोणात्मक टी–२० सिरिजमा भारतले दोस्रो जित हात पारेको छ। सोमबार भएको खेलमा भारतले श्रीलंकालाई ६ विकेटले पराजित गरेको हो।
कोलम्बोमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले १९ ओभरमा ९ विकेटको क्षतिमा १ सय ५२ रन जोड्यो। श्रीलंकाका लागि ओपनिङ ब्याट्सम्यान कुशल मेन्डिसले ५५ रनको योगदान गरे। अन्य ब्याट्सम्यानले उल्लेख्य रन बटुल्न सकेनन्। बलिङतर्फ भारतका शार्दुल ठाकुरले ४ विकेट लिन सफल भए। उनले श्रीलंकाका ओपनर गुणतिलका र कप्तान कुशल परेरालाई सिकार बनाएका थिए। भारतका लागि पाँचौं टी–२० खेल खेलेका उनले ४ ओभरमा ४ विकेट लिन २७ रन खर्चिए।
वासिङट सुन्दरले पनि २ विकेट लिए।
१ सय ५३ रनको लक्ष्य भारतले १७.३ ओभरमा ४ विकेटको क्षतिमा पार गर्यो। भारतका लागि मनिष पाण्डेले नटआउट ४२ र दिनेश कार्तिकले नटआउट ३९ रन जोडे। पाण्डेले ३१ बलमा ३ चौका र १ छक्का तथा कार्तिकले २५ बलमा ५ चौका प्रहार गरे।
सिरिजमा भारतले ३ खेलबाट ४ अंक जोडेको छ। श्रीलंका र बंगलादेशले २–२ अंक बटुलेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।