इंग्ल्यान्ड–डेभिड सिल्भाको २ गोलको मदतले स्टोक सिटीविरुद्ध जित निकाल्दै म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिगको उपाधिनजिक पुगेको छ। रेलिगेसन जोनबाट बाहिर आउन कोशिष गरिरहेको स्टोकको आफ्नै घरेलु मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीका अघि जोर चलेन।
रहिम स्टर्लिङको लो–क्रसमा सिल्भाले खेलको दशौँ मिनेटमा नै गोल गरेका थिए। दोस्रो हाफको खेल सुरु भएको मात्र ५ मिनेटमा स्टोकका गोलकिपर ज्याक बटल्यान्डलाई चकित पार्दै सिल्भाले दोस्रो गोल गर्दै टिमको विजय सुनिश्चित गरे।

२ गोलसँगै खेलको म्यान अफ द म्याच समेत बनेका सिल्भाको जारी सिजनमा गोल संख्या ८ पुगेको छ। स्टोकको खराब फ्रिकिकपछि रहिम स्टर्लिङले म्यानचेस्टरको गोल संख्या ३ पुर्याउने मौका गुमाए।
जितपछि म्यानचेस्टरका म्यानेजर पेप ग्वार्डिवलाले उपाधिका लागि म्यान्चेस्टरलाई अब मात्र २ खेलमा जित आवश्यक रहेको बताए। उनले भने,‘यसले केहि पनि फरक पार्दैन कि हामीले कहिले उपाधि जित्दैछौँ।’

म्यानचेस्टर सिटीले अब आफ्ना बाँकि खेलहरु इभरर्टन र म्यानचेस्टर युनाइटेडसँग खेल्ने छ। ग्वार्डिवला आफ्नो नजिकको प्रतिद्वन्द्वी युनाइटेडलाई पराजित गर्दै इतिहास कायम गर्ने दाउमा रहेका छन्।
जितसँगै ग्वार्डिवलाको टिम म्यान्चेस्टरले म्यान्चेस्टर युनाइटेडसँग १६ अंकको दुरी बनाएको छ। यो सिजनको उपाधि हात पार्न अब उसलाई मात्र २ खेलमा जित आवश्यक छ। हालसम्म सिटीले ३० खेलबाट ८१ अंक प्राप्त गर्दा समान खेलबाट म्यान्युले ६५ अंक मात्रै जोड्न सकेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।