काठमाडौं– गोली प्रहारबाट गम्भीर घाइते भएका कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई थप उपचारका लागि काठमाडौं ल्याइँदैछ।
घरमै बसिरहेका बेला सोमबार साँझ चौधरीमाथि आक्रमण भएको थियो। घटनास्थलबाट गोलीको एक खोका समेत फेला पारिएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक कर्णसिंह कार्कीले बताए। घटनामा संलग्न भएको प्रहरीले ३ जनालाई पक्राउ गरिसकेको छ।
चौधरीको कम्मरमुनि गोली लागेको र टाउकोमा खुकुरी प्रहार भएको छ। उनको कोहलपुर अस्पतालमा उपचार भइरहे पनि अवस्था गम्भीर भएकाले नेपाली सेनाको हेलिकोप्टरबाट उनलाई काठमाडौं ल्याइँदै गरिएको हो।
सोमबार बेलुकी ८ बजेर १० मिनेटको समयमा घरमै बसिरहेका बेला दुई मोटरसाइकलमा आएका ४ जनाले चौधरीमाथि गोली प्रहार र आक्रमण गरेका थिए।
गत बिहीबार घोडाघोडीमै राधा चौधरीमाथि ‘बोक्सी’को आरोपमा झाँक्री रामबहादुर चौधरीले कुटपिट गर्दा मेयर ममताप्रसाद चौधरी रमिते बनेको र प्रहरीले पक्राउ गरेका दोषीलाई छुटाउन पहल गरेको आरोप लागेको छ। मेयर चौधरीले राधा चौधरीलाई बोक्सी आरोपमा कुटपिट गर्ने दोषीलाई प्रहरीबाट छुटाउन खोजेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।