काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको पुरुष फुटबलमा बंगलादेशलाई पराजित गर्दै नेपाल फाइनलमा पुगेको छ। फाइनलमा पुगेपछि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले स्वर्ण नेपालले नै जित्ने दाबी गरेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको राउण्ड रोविनको अन्तिम खेलमा नेपालले बंगलादेशलाई १–० गोलअन्तरले हरायो। कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गरेको गोल नै नेपालका लागि जितको आधार बन्यो।
जितपछि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले खुसी ब्यक्त गर्दै स्वर्ण आफ्नै भएको बताए।
‘हामीले जितका लागि खेलेका थियौं। सफल भएका छौं। अब फाइनलमा भुटानलाई फेरि पराजित गर्दै स्वर्ण जित्छौं।’
यसअघि राउण्ड रोविनको आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको थियो।
बंगलादेशमाथि जित हात पारे पनि आफ्ना खेलाडीले सय प्रतिशत दिएर खेल्न नसकेको मुख्य प्रशिक्षक महर्जनले आसय राखे।
उनले भने, ‘२४ घण्टाभित्र हामीले अर्को खेलमा जित हात पारेका छौं। दोस्रो हाफमा हाम्रा खेलाडी निकै थकित भए। लगातार खेल खेल्दा खेलाडीमा यस्तो भएको हो।’
नेपालले शनिबार माल्दिभ्ससँग २–१ गोलको जित हात पारेको थियो।
यता, बंगलादेशका मुख्य प्रशिक्षक जेम्स डेले गोल गर्ने राम्रो मौका गुमाउँदा नेपालविरुद्ध हार्नु परेको बताए।
‘हामी गोल्ड मेडलकै लागि आएका थियौं। तर सफल हुन सकेनौं। पहिलो खेलमा नै भुटानविरुद्ध हार्नु हाम्रो लागि सबैभन्दा ठूलो दुर्भाग्य भयो।’ प्रशिक्षक जेम्स थप्छन्, ‘नेपालविरुद्ध एकपछि अर्को अवसर निकाले पनि सदुपयोग गर्न सकेनन्।नेपाल स्तरीय टिम हो।’
बंगलादेशविरुद्ध नेपलका मुख्य डिफेन्डर विकास खवास थिएनन्। उनको स्थानमा छिरिङ गुरुङले खेले। विकासले श्रीलंकासँग खेल्दा पहेँलो कार्ड पाएका थिए। माल्दिभ्सविरुद्ध खेल्दा पनि पहेँलो कार्ड पाएपछि बंगलादेशविरुद्ध भने खेल्न पाएका थिएनन्।
तर अब उनले फाइनलमा भने भुटानविरुद्ध खेल्ने छन्। दोस्रो हाफको मध्यतिर कप्तान सुजल श्रेष्ठ खुट्टा समस्या आएपछि मैदानबाट बाहिरिएका थिए। तर उनलाई गहिरो चोट नलागेको मुख्य प्रशिक्षक महर्जन भन्छन्।
महर्जनले भने, ‘त्यति ठूलो चोट होइन। फाइनलमा सुजलले खेल्ने छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।