पोखरा- १३औं दक्षिण एसियाली खेलकुद (साग)को आर्चरी खेलमा नेपालले एक रजत पदकसहित तीन पदक जितेको छ। नेपालले कम्पाउण्ड (५० मिटर) मिक्स तर्फ ऐतिहासिक रजत पदक जितेको हो।
आइतबार भएको फाइनलमा खेलमा बंगलादेशले नेपाललाई ८ अंकको अन्तरले पराजित गर्दै स्वर्ण पदक जित्यो। नेपालले फाइनल खेलमा १ सय ४० अंक ल्याउदा बंगलादेशले भने १ सय ४८ अंक ल्याउँदै स्वर्ण जितेको हो।
१० वटा स्वर्ण पदकको लागि जारी उक्त प्रतिष्प्रर्धामा आइतबारसम्म ६ वटा स्वर्ण पदकको छिनोफानो लाग्दा ६ वटै स्वर्ण पदक बंगलादेशले जित्न सफल भएको छ। बंगलादेशले कम्पाउण्ड महिला तथा पुरुष, रिकर्भ महिला तथा पुरुष र रिकर्भ मिक्स तर्फ स्वर्ण पदक जितेको हो।
त्यस्तै पुरुष कम्माउण्ड तर्फ नेपालले कास्य पदक जितेको छ। नेपालले कास्य पदकको लागि आइतबार भएको खेलमा श्रीलंकालाई १ अंकले पराजित गर्दै कास्य पदक हात पार्न सफल भएको हो। कास्य जितेको नेपालको टिममा मिनप्रसाद गौचन, सनत मल्ल र योगेन्द्र शेरचन रहेका थिए। यस बिधामा बंगलादेशले भुटानलाई पराजित गर्दै स्वर्ण पदक जितेको छ।
कम्पाउण्ड महिला तर्फको खेलमा नेपालले सिधै बाई पाएर कास्य पदक प्राप्त गर्न सफल भएको हो।
त्यसैगरी नेपाल रिकर्भ पुरुष तर्फको इभेण्टमा भुटानसंग समान अंकभए पनि प्वाइन्टका आधारमा नेपाल पराजित हुँदा पदक विहिन् भयो। यस बिधामा बंगलादेशले श्रीलंकालाई पराजित गरी स्वर्ण हात पार्न सफल भयो।
रिकर्भ महिला तर्फको खेलमा पनि नेपालले कास्य पदकको लागि भुटानसंग भएको खेलमा २ अंकले पराजित हुँदै पदक विहिन भयो। यस बिधामा पनि बंगलादेशले श्रीलंकालाई पराजित गर्दै स्वर्ण जित्यो।
रिकर्भ मिक्स टिम पनि नेपालले कास्य पदक प्राप्त गर्न चुक्यो। कास्य पदकको लागि आइतबार भएको खेलमा श्रीलंकाले नेपाललाई पराजित गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।