काठमाडौं– सोमबार भएको युएस–बांग्ला एयरको विमान दुर्घटनाप्रति अन्तर्राष्ट्रिय समुदायले दुःख व्यक्त गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनाप्रति भारत, पाकिस्तान, रसियालगायतले दुःख व्यक्त गरेका हुन्।
भारतीय विदेश मन्त्री सुष्मा स्वराजले बंगलादेशी समकक्षी एएज महमुद अलीलाई फोन सम्पर्क गर्दै दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेकी छन्। अली हाल प्रधानमन्त्री शेख हसिनासँगै सिंगापुर भ्रमणमा छन्।
ढाकास्थित भारतीय उच्च आयोगले जारी गरेको ट्विटमा कुराकानीका क्रममा विदेशमन्त्री स्वाराजले काठमाडौंमा कुनै पनि किसिमको सहयोगका लागि भारत तयार रहेको बताएको उल्लेख छ।
पाकिस्तानी सरकारले पनि घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवार तथा बंगलादेशी सरकारलाई समवेदना प्रकट गरेको छ।
बंगलादेशस्थित पाकिस्तानी उच्च आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘घटनाबाट पीडित तथा उनीहरुका परिवारप्रति हामी शोकलाई शक्तिमा बदल्ने साहस मिलोस् भन्ने प्रार्थना गर्दछौँ। दुर्घटनामा घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको पनि कामना गर्दछौँ।’
उता रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले पनि बंगलादेशी राष्ट्रपति तथा प्रधानमन्त्री शेख हसिनालाई सम्पर्क गर्दै घटनाप्रति समवेदना प्रकट गरेको रसियाली राष्ट्रपतिको कार्यालयले जनाएको छ।
राष्ट्रपति पुटिनले दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै आफु पीडित परिवारको पक्षमा रहेको बताएका छन्। उनले घाइतेहरुको स्वास्थ्य लाभको पनि कामना गरेका छन्।
फ्लाइट नम्बर बिएस २११ को विमान ढाका–काठमाडौं उडानका क्रममा अवतरण गर्दा त्रिभुवन विमानस्थलमा सोमबार दुर्घटनामा परेको थियो। ४ जना चालक दलका सदस्यसहित ७१ जना यात्रु सवार सो विमान दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो। दुर्घटनामा परि २२ जना घाइते भएका थिए। घाइतेहरुको राजधानीका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।
विमानमा ३३ नेपालीसहित ३२ बंगलादेशी तथा माल्दिभ्स र चीनका एक/एक यात्रु सवार थिए। मृत्यु हुनेमध्ये चालक दलका ४ सदस्यसहित २९ जना बंगलादेशी नागरिक रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।