कैलाली– कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमथि गोली प्रहार गरेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
घरमै बसिरहेका बेला सोमबार साँझ चौधरीमाथि आक्रमण भएको थियो। घटनास्थलबाट गोलीको एक खोका समेत फेला पारिएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक कर्णसिंह कार्कीले बताए। पक्राउ पर्नेहरुको नाम भने प्रहरीले खुलाएको छैन।
चौधरीको कम्मरमुनि गोली लागेको र टाउकोमा खुकुरी प्रहार भएको छ। उनको हाल कोहलपुर अस्पतालमा उपचार भइरहेको छ। अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौं लगिने तयारी गरिएको बताइएको छ।
सोमबार बेलुकी ८ बजेर १० मिनेटको समयमा घरमै बसिरहेका बेला दुई मोटरसाइकलमा आएका ४ जनाले चौधरीमाथि गोली प्रहार र आक्रमण गरेका थिए।
चौधरीमाथि आक्रमण गरेपछि २ जना मोटरसाईकलमा र अन्य मोटरसाइकल छोडेर नगर प्रमुखको घरबाट पश्चिमतर्फ रहेको जंगलतिर भागेका थिए। से २ प ३६७१ नम्बरको मोटरसाइकल प्रहरीले नगर प्रमुखको घरबाट बरामद गरेको छ।
प्रारम्भिक अनुसन्धान अनुसार बोक्सी आरोपमा राधा चौधरीमाथि कुटपिट गर्नेलाई जोगाउन खोजेका मेयर चौधरीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ।
विप्लव नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी इन्चार्ज महानको हस्ताक्षरमा सोमबार बिहान नगर प्रमुख चौधरीलाई कारबाही गर्ने भनेर विज्ञप्ति जारी भएको थियो।
गत बिहीबार घोडाघोडीमै राधा चौधरीमाथि ‘बोक्सी’को आरोपमा झाँक्री रामबहादुर चौधरीले कुटपिट गर्दा मेयर ममताप्रसाद चौधरी रमिते बनेको र प्रहरीले पक्राउ गरेका दोषीलाई छुटाउन पहल गरेको आरोप लागेको छ। मेयर चौधरीले राधा चौधरीलाई बोक्सी आरोपमा कुटपिट गर्ने दोषीलाई प्रहरीबाट छुटाउन खोजेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।