काठमाडौं- नेपाल दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत पुरूष फुटबलको फाइनलमा पुगेको छ। लिगको अन्तिम खेलमा बंगलादेशलाई १-० ले हराउँदै नेपाल फाइनलमा पुगेको हो।
नेपालले फाइनलमा भुटानसँग मंगलबार खेल्नेछ। नेपालसँग ४-० ले पराजित भुटानले लिगका बाँकी तीनै खेल जितेको थियो।
अन्तिम खेलमा शनिबार श्रीलंकालाई ३–० ले हराएको भुटानले त्यसअघि बंगलादेश र माल्दिभ्सलाई पनि जित्दै ९ अंकसहित पहिलोपटक साग फुटबलको फाइनलमा स्थान बनाएको हो।
आइतबार बंगलादेशविरूद्ध खेलको ११ औं मिनेटमा सुनिल बलको गोलमा नेपालले अग्रता लिएको थियो। त्यसपछि पनि नेपालको केही गोलका अवसर सदुपयोग हुन सकेन। पहिलो हाफमा पछिल्लो १५ मिनेट बंगलादेशले दबाबमा राखे पनि गोल गर्न सकेन।
दोस्रो हाफमा १५ मिनेटसम्म नेपालले बलमा नियन्त्रण बनाए पनि त्यसपछि केहीबेर बंगलादेशले दबाब बनायो। ६०औं मिनेटमा बंगलादेशी खेलाडीको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो। लगत्तै ६१औं मिनेटमा पनि बंगलादेशले एउटा राम्रो प्रहार गर्यो तर बल पोस्टको ठिक माथिबाट बाहिरियो।
त्यसपछि खेलमा नेपालले केही गोलका अवसर खेर फाल्यो। ६५औं मिनेटमा सुनिलको फ्री किकमा सुजलको फ्री हेड पोस्ट नजिकबाट बाहिरियो। ६९औं मिनेटको नेपालको अवसर पनि गोल हुन सकेन। त्यसपछि बंगलादेशले नेपालको डिएरियामा प्रेसर दिइरहेपनि गोल गर्न सकेन। दोस्रो हाफमा नेपालले पनि केही राम्रा अवसर खेर फाल्दा खेल १-० मै सकिएको थियो।
खेलमा तनावको अवस्था सिर्जना भइरहँदा अन्तिम समयमा रेफ्रिसँग भनाभन गरेका बंगलादेशका कप्तान जमल भुयानले रेड कार्ड नै पाएका थिए।
लिग चरणमा भुटानलाई ४-० ले हराएको नेपालले माल्दीभ्सलाई २-१ ले हराएको थियो भने श्रीलंकासँग १-१ को बराबरी खेलेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।