काठमाडौं- लेखक खगेन्द्र संग्रौलाको जीवनी 'सन्नाटाको एउटा स्वर' प्रकाशन हुने भएको छ। पुस्तक उज्ज्वल प्रसाईले लेखेका हुन्। बुक हिलले प्रकाशन गर्न लागेको सो पुस्तकको आवरण आइतबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो।
संग्रौलाले आफ्नो बारेमा प्रशस्त लेखिसकेको हुनाले उनका जीवनी लेख्नु चुनौतीपूर्ण महसुस गरेको प्रसाईले बताए। पुस्तक लेख्ने क्रममा आफूले संग्रौलाको तर्फबाट नेपाली समाजको सांस्कृतिक राजनीतिक परिवर्तनलाई हेर्ने प्रयत्न गरेको उनको तर्क छ।
'यो जीवनी हो। संग्रौला यसका मुख्य विषय हुन्। तर संग्रौला मात्रै यसका विषय होइनन्', प्रसाईले भने, 'संग्रौला जहाँ जन्मिनुभयो। जहाँ हुर्किनुभयो। आज उहाँ जस्तो हुनुहुन्छ। त्यस्तो कसरी बन्नुभयो? सम्भवतः यो समाजले बनायो।यहाँको शक्ति संरचनाले संग्रौलालाई संग्रौलाजस्तो बनायो। शक्ति संरचनामा कहिले हेलिनुभयो। कहिले प्रश्न गर्नुभयो। कहिले बदल्ने कोसिस गर्नुभयो। त्यो अभियानमा लागेको मान्छेले नेपाली समाजसँग कसरी संवाद गर्यो? संग्रौलालाई बहाना बनाएर नेपाली समाजको अध्ययन गर्ने एउटा मौकाको रुपमा मैले यो लेखनलाई बुझें।'
संग्रौलाले भने आफू कथा भएको र प्रसाई कथाकार भएको बताए। उनले जीवनी लेख्ने प्रसंग उठेदेखि आफ्नो मनमा अन्तर्द्वन्द्व उठेको बताए।
मलाई जिन्दगीमा मुख्यरुपमा तीनथरिले केरकार गरेका छन्। पहिलो, पुलिस, अञ्चलाधीश र जर्नेल। दोस्रो, श्रीमती। र तेस्रो, प्रसाई।
'धेरैले भनेको सुन्दा मलाई के लाग्थ्यो भने समकालीन नेपाली समाजको अत्यन्त साहसिक मान्छे हुँ। धेरैले भनेपछि मेरो आँखामा पनि त्यस्तै एउटा बिम्ब बनेको थियो। प्रसाईले अत्यन्त कठोरताका साथ, प्रेमपूर्वक प्रहरीले जस्तै केरकार गरेपछि मभित्रका धेरै कुरा बाहिर आएका छन्', उनले भने, 'त्यसैले यो जीवनी होइन, खगेन्द्र संग्रौलाको एक किसिमले भण्डाफोर हो। यसका व्यापक भण्डाफोर भएका छन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।