काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो भएको युएस-बंगला विमान दुर्घटनाबारे अनुसन्धान गर्न बंगलादेशी अधिकारी नेपाल आउने भएका छन्।
दुर्घटनासम्बन्धी जानकारी दिन नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा दुर्घटनाग्रस्त युएस बाङ्लाको बिएस-२११ विमानको छानविनमा सहभागी हुन बंगलादेशी उड्डयन प्राधिकरणका अधिकारीले इच्छा देखाएको जनाइयो।
प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले सरकारले गठन गरेको छानविन समितिलाई विमान दुर्घटनाको आवश्यक विवरण बुझाउने बताउँदै बंगलादेशी अधिकारीसमेत अनुसन्धानमा सहभागी हुने जनाए।
बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको युएस बाङ्लाको विमान सोमबार दिउँसो २ बजेर १८ मिनेटमा अवतरणका क्रममा विमानस्थलमा दुर्घटना हुदाँ ४९ जनाको मृत्यु भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीले आफूहरुले बारम्बार जहाज अवतरणमा केही समस्या भए जानकारी गराउन अनुरोध गरे पनि जहाज चालकले कुनै अफ्ठ्यारो नभएको बताएको उल्लेख गरे।
महानिर्देशक गौतमले भने, 'विमान चालक दलका सदस्यलाई दक्षिणबाट ल्यान्ड गराउन अनुरोध गरे पनि विमान उत्तरतर्फ अवतरणका लागि गएको थियो। विमान चालकलाई सहजताका आधारमा अवतरण गराउन सम्पर्क गरे पनि कुनै असामान्य अवस्थाबारे जानकारी पाएनौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।